स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुँदै महावीर क्लबका अध्यक्ष अजय मानन्धर (दायाँ) ।

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर जिल्लाकै पुरानो महावीर क्लबले नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका ५ नम्बर वडा इकाई समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कांग्रेसले सञ्चालन गरेको समुदायमा प्राथमिक स्वास्थ्य परीक्षण शिविर अभियानको अवसरमा क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

क्लबले सुगर परीक्षण किट ५०० थान, रक्तचाप परीक्षण गर्ने डिजिटल मेसिन २ थान लगायत स्वास्थ्य उपचारमा आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको क्लबका अध्यक्ष अजय मानन्धरले जानकारी दिनुभयो । महावीर क्लबले १५ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमका संयोजक सविन नेपालीले जानकारी दिनुभयो ।

नवीन टोल पिप्लेमा आयोजना भएको प्राथमिक स्वास्थ्य परीक्षण शिविरमा १६५ जनाले स्वास्थ्य परीक्षण गरेको नेपाली कांग्रेस ५ नम्बर वडा समितिका सभापति यमबहादुर श्रेष्ठले जानकारी दिनुभयो । नेपाली कांग्रेस ५ नम्बर वडा इकाई समितिले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै केही दिनमानै एक हप्ता स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने तयारी गरेको सभापति श्रेष्ठले बताउनुभएको छ ।