वार्षिकोत्सवको अवसरमा नृत्य प्रस्तुत गर्दै विद्यार्थी ।

हेटौँडा : हेटौँडा–४ स्थित रोज एकेडेमीले बुधबार २५ औं वार्षिकोत्सव मनाएको छ । रजत जयन्तीको अवसरमा एक कार्यक्रमको आयोजना गरी विद्यालयले विद्यार्थीको नृत्य, नाट्य तथा उद्घोषण कला प्रस्तुत गरेको थियो । विद्यार्थीले पुस्तक समीक्षा, कविता वाचन समेत गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सीपल लक्ष्मण सुन्दर श्रेष्ठको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा रजत जयन्ती समारोह भएको हो । कार्यक्रममा प्याव्सन मकवानपुरका सचिव सुदीप राज गिरीको पनि आतिथ्य रहेको थियो । ५ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । चालु शैक्षिक सत्रदेखि नै विद्यार्थीका लागि रमाउँदै खेल्दै सिक्ने अवधारणामा शैक्षिक क्रियाकलाप गर्न सुरु गरेको प्रिन्सीपल रुपेश श्रेष्ठले जानकारी दिनुभयो ।