उम्मेदवारीको घोषणा गर्नुहुदै जेपी यादव

हेटौंडा: लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालको लायन बर्ष २०२५/२६ का लागि सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा मकवानपुरका सामाजिक अभियन्ता तथा व्यवसायी जेपी यादवले उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत् लायन बर्ष २०२५/२६ का डिस्ट्रिक्ट गभर्नरले अघि सारेको ‘नारा’लाई आत्मसाथ गर्दै शिक्षा, स्वास्थ्य, पर्यावरण संरक्षण, बालबालिकाको संरक्षणजस्ता कार्य गर्न आफूले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखा परीक्षण, रक्तदान र स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने बताउनुभयो । शिक्षा प्रवद्र्धनमा आर्थिकरुपमा कमजोर विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम र शैक्षिक सामग्री वितरण गर्ने उहाँले घोषणा गर्नुभयो । पर्यावरण संरक्षणमा वृक्षरोपण अभियान, फोहोर व्यवस्थापन सचेतना, प्लास्टिक न्यूनीकरण अभियान सञ्चालन गर्ने घोषणा गर्नुभयो । यस्तै, बालबालिकाको संरक्षणमा अनाथ आश्रम तथा बृद्धाश्रम सहयोग कार्यक्रम, सडक बालबालिकाका लागि पुनस्र्थापना अभियान सञ्चालन गरिने उहाँको भनाइ छ ।

क्लब अध्यक्ष, सचिव र अन्य सदस्यहरुलाई नेतृत्व विकास तथा व्यवस्थापन तालिम, नयाँ सदस्य अभिमुखीकरण, सदस्यहरुबीच मित्रता तथा नेटवर्किङ कार्यक्रम, महिला सशक्तिकरण कार्यक्रम, डिजिटल जागरुकता अभियान, स्मार्ट क्लब व्यवस्थापन गर्न सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा आफ्नो उम्मेदवारी रहेको यादवले जानकारी दिनुभयो । सन् २००९ मा लायन्स क्लब अफ हेटौंडामार्फत् सामाजिक सेवाको यात्रामा प्रवेश गर्नुभएका यादवले सन् २०१८ मा लायन्स क्लब अफ मकवानपुर डायमण्डको संस्थापक अध्यक्षको जिम्मेवारी सम्हाल्नु भइसकेको छ । सन् २०२० मा एरिया सचिव, २०२१ मा रिजन चेयरपर्सन हुँदै ‘बेस्ट रिजन चेयरपर्सन अवार्ड’ प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो । सन् २०१९/२० र २०२०/२१ मा लायन्स इन्टरनेशनल प्रेसिडेन्टको मेडलबाट सम्मानित भएको उहाँले जानकारी दिनुभयो ।

२०२३ मा एरिया चिफको रुपमा काम गर्दै क्षेत्रीय विकास र सेवा प्रवद्र्धनजस्ता विभिन्न कार्यक्रम सफल पार्न आफूले योगदान गरेको भन्दै उम्मेदवारी दिएको उहाँले जानकारी दिनुभयो । यादव नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका आजीवन सदस्य र बसामाडी जेसीजका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ । यस्तै, फेमस तास हाउस, त्रिमूर्ति प्रिन्ट एन्ड प्याकेजिङ र दाजुभाइ हार्डवेयरका सञ्चालकसमेत हुनुहुन्छ ।