हेटौँडा : हेटौँडा हुँदै बारातर्फ गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ । आइतबार साँझ ६ः३० बजेको समयमा गोरु बोकेको गाडीलाई पथलैयाबाट नियन्त्रणमा लिएको हो ।
हेटौँडा–१५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भइपछि कार्यालयको टोलीले पिछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले सहयोग नगर्दा मकवानपुरका नाका पार गरेर गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको हो । अवेर राति ११ बजे नियन्त्रणमा लिइएको गोरु सहितको ट्रक हेटौँडा ल्याइएको छ।
आइतबार दिउँसो विशेष सूचनाका आधारमा कार्यालय प्रमुख ठाकुर गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा हुनुहुन्थ्यो। उहाँ सरकारी मोटरसाइकलमा राजमार्ग भन्दा फरक बाटो भएर रातोमाटे चौकीमा पुग्नुभयो । त्यहाँ पुग्दा बा प्र ३–००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सुरक्षाजाँच गर्दै गरेको फेला पर्यो । सोही ट्रकमा लोड गरिएको थियो २५ वटा गोरुहरु । ट्रक रोकेको देखेपछि प्रमख ठाकुरले प्रहरीलाई जानकारी गराएर ट्रक नियन्त्रणमा लिन आग्रह गर्नुभयो । तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन । चितवन हुँदै हेटौँडा आएको ट्रक नियन्त्रणमा लिन आफूले चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्कालाई जानकारी गराएको प्रमुख ठाकुरले बताउनुभएको छ ।

‘ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज ‘सई साप’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सापलाई पनि जानकारी गराएँ । तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिए,’ ठाकुरले भन्नुभयो ।
रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि प्रमुख ठाकुर पनि ट्रकको पछि पछि लाग्नुभयो । रातोमाटेमा प्रहरीको सहयोग नपाएपछि प्रमुख ठाकुर हेटौंडा–१५, नयाँ बस्तीमा रहेको सशस्त्र प्रहरीको राजमार्ग सुरक्षा चेकपोष्टमा पुग्नुभयो । डियुटिमा रहेका सशस्त्रका असईलाई जानकारी गराउनु भयो । त्यस समयसम्म ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीको मोटरसाइकल सहितको टिमले स्कर्टिङ गरेर चुरियामाई नाका कटाइ दिएको ठाकुर बताउनुहुन्छ ।
नेपाल प्रहरी र प्रशासनबाट सहयोग नपाएका प्रमुख ठाकुरले सशस्त्रको सहयोग लिनुभयो । सशस्त्र प्रहरी १४ नम्बर हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँगको समन्वयमा पथलैयास्थित राजस्व अनुसन्धानमा खटिएको सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको प्रमुख ठाकुरको भनाई छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाका सशस्त्र प्रहरीका प्रहरी निरिक्षकको टोलीले ट्रकलाई नियन्त्रणमा लिएर पशु सेवा कार्यालय मकवानपुरलाई जिम्मा लगाएको उहाँले बताउनुभयो ।
सशस्त्रको सहयोगमा ट्रक नियन्त्रणमा लिए लगत्तै ट्रकका चालक र गोरु चरुवाहरु फरार भए । करिव २ घण्टासम्म ट्रक चलक नआएपछि हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइएको उहाँले जानकारी दिनुभयो।
ट्रक नियन्त्रणमा लिएर कागजातहरु छानविन गर्दा उक्त गोरु बोकेको ट्रकको भेटेरिनरी प्रमाण पत्र गलत भेटिएको थियो । २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापा लगिँदै गरेको ठाकुरको भनाई छ। भेटेरिनरी प्रमाण पत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्सलाई उक्त गोरुहरु विक्री गरेको देखिन्छ । सो कार्यका लागि डा. टिकाराम न्यौपानेले भेटेरिनरी प्रमाण पत्र जारी गर्नुभएको छ । भेटेरिनरी प्रमाण पत्र प्रमाणीकरण नै नगरी तस्करीको उद्देश्यले गोरुहरु झापा पुर्याउने काम भएको उहाँले बताउनुभयो ।
छानविका क्रममा सो गोरुहरु सलार्हीको नवलपुरमा लगेर २ दिन राख्ने र सो पश्चात अर्को ट्रकमा हालेर झापा पठाउने योजना रहेको प्रमुख ठाकुरले जानकारी दिनुभयो । लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर–१६ हेटौंडाको नाममा बिजक जारी गरिएको थियो । प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजन भनेर देखाइएको उहाँले बताउनुभयो । सो ट्रकले हेटौँडा उपमहानगरपालिकाको पशुहाट सेवा शुल्क वापत २५ गोरुका लागि ३ हजार रुपैयाँ बुझाएको छ । उपमहानगरपालिकाले गाई गोरु ढुवानी बापत उक्त शुल्क प्रति गोटा २०० रुपैयाँ निर्धारण गरेको छ ।
प्रहरीको असहयोगमा निरह कर्मचारी
ट्रक नियन्त्रणमा लिन हेटौँडादेखि पथलैयासम्म पशु सेवा कार्यालयका टोलीलाई प्रहरीको सहयोग नमिल्दा निरह बन्नु पर्यो । सशस्त्र प्रहरीले ट्रक रोकेर कागजपत्र नियन्त्रणमा लिए लगत्तै ट्रक चालक फरार भएका थिए ।
२ घण्टा भन्दा बढी समय सशस्त्र प्रहरीले चालकलाई सम्पर्क गर्दा आफू चौकीमा रहेको बताए । तर, उनी ट्रकको छेउछाउ देखा परेनन् । सँगै रहेका सादा पोशाकका नेपाल प्रहरीले सहयोग गरेनन् । प्रहरीको सहयोग नपाएपछि चालक फोन अफ गरेर सम्पर्कविहीन बने । चौकीमा रहेको भनिएको चालकलाई प्रहरीले खोज्नेसम्मको चेष्टा गरेन । अन्ततः राति ९ बजे हेटौँडाबाट चालक बोलाएर ट्रकलाई पथलैयाबाट हेटौँडा ल्याएको थियो ।
हेटौंंडा ल्याएको ट्रकको सुरक्षामा समेत समस्या देखियो । ट्रक र गोरुहरुको सुरक्षाका लागि कार्यालय प्रमुख ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी कृष्णहरी शर्मालाई आग्रह गर्नुभयो । तर, स्थान नभएकाले आफूहरुले सहयोग गर्न नसक्ने जवाफ दिएको ठाकुरले बताउनुभयो । कार्यालयले नै सुरक्षा र व्यवस्था गर्न सुझाएपछि उक्त ट्रक नयाँ बस्तीको सशस्त्रको चेकपोइन्टमा नै राखिएको उहाँले बताउनुभयो ।
गोरु तस्करीबारे जानकारी छैनः फुयाल
रातोमाटे चौकीका इन्चार्ज कुमार फुयालका अनुसार गोरु तस्करी बारे जानकारी नरहेको बताउनुभयो । गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरुबाट आफूलाई कुनै जानकारी नरहेको उहाँले बताउनुभयो ।
आइताबरको घटना बारे आफूलाई जानकारी नभएको र चौकीमा सामान्य सुरक्षाजाँचपछि ट्रक छोडिएको उहाँले बताउनुभयो । प्रहरीको संरक्षणमा नाका कटाउने भन्ने विषय गलत भएको उहाँको भनाई छ ।