सातौं संस्करणको बागमती गोल्डकपको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

बागमती (झुरझुरे) : मकवानपुरको बागमती गाउँपालिकामा सातौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको सुरु भएको छ । गाउँपालिका वडा–४, झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गर्नुभएको भयो ।

प्रतियोगिताको उद्घाटन खेलमा सर्लाहीको बागमती युथ क्लबले विजयी सुरुवात गरेको छ । बागमती युथ क्लबले आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई १–० गोलअन्तरले पराजित गरेको हो । बागमती युथ क्लबको जीतमा विमल घिसिङले निर्णायक गोल गरे । उनले खेलको ७६औं मिनेटमा उत्कृष्ट गोल प्रहार गरे । उद्घाटन खेलमा निर्णायक गोल गरेका विमल घिसिङ म्यान अफ द म्याच घोषित हुँदै ट्रफी र नगद १० हजार रूपैयाँ प्राप्त गरेका छन् ।

म्यान अफ द म्याच घोषित हुँदै ट्रफी र नगद १० हजार रूपैयाँ ग्रहण गर्दै विमल घिसिङ ।

प्रतियोगितामा ७ वटा ‘ए’ डिभिजन क्लब र ३ वटा मोफसलका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताका लागि गाउँपालिकाबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त हुनेछ । ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि मकवानपुरको १० वटै पालिकाबाट, सिन्धुली जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकासँग पनि सहयोगका लागि पहल गरिएको बताइएको छ ।

प्रतियोगिता अन्तर्गत आइतबार सशस्त्र प्रहरी बलको एफपीएफ क्लब र हानामीबीच प्रतिस्पर्धा हुनेछ । गोल्डकपको उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले गाउँपालिकामा पूर्वाधारको दृष्टिकोणले विकास भएको बताउनुभयो । भौतिक पूर्वाधारको सन्दर्भमा बाटो लगायतको ठाउँहरूको विकास भएको अनुभूति आफुलाई भएको उहाँले बताउनुभयो । आफुलाई फुटबल खेलमा रूचि लाग्ने भएकोले यसको विकास गर्ने कामबाट पछि नपरेको उहाँले बताउनुभयो ।