हेटौंडाः स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१ शुक्रबार सम्पन्न भएको छ । ३० विद्यालयका करिब एक हजार जनाको सहभागितामा ज्ञान परीक्षा भएको हो ।
प्रतियोगितात्मक संस्कृति ज्ञान परीक्षामा हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका आर्यन जयसवाल प्रथम हुनुभएको छ । ५० प्रश्न सोधिएको परीक्षामा १० जनाले शतप्रतिशत मिलाएका थिए । आयोजकले गोलाप्रथा गर्ने क्रममा जयसवाल प्रथम हुनुभएको जानकारी दिएको छ । प्रतियोगितामा हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टका नितिशकुमार यादव द्वितीय हुनुभएको छ । १२ जनाले समान ४९ वटा प्रश्न मिलाएका थिए । गोलाप्रथाबाट यादव द्वितीय हुनुभएको हो ।
हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसका आयुष्मा भण्डारी तृतीय हुनुभएको हो । १० जनालाई सान्त्वना घोषणा गरिएको छ । प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र ७ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना हुने १० जनालाई १ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रम हयग्रीव आचार्यको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुुुख आतिथ्यमा सञ्चालन भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रमुख बानियाँले हेटौंडा उपमहानगरपालिकाले प्राविधिक शिक्षामा जोड दिइरहेको बताउनुभयो । संस्कृति ज्ञान परीक्षाले विद्यार्थीमा संस्कारको विकास हुने भएकाले स्थानीय सरकार यस्ता कार्यमा सकारात्मक भएर लागिपर्ने उहाँले बताउनुभयो ।