हेटौंडाः हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा सञ्चालन भइरहेको खेलकुद महोत्सव अन्तर्गत शुक्रबार एथ्लेटिक्सतर्फका खेलहरु सम्पन्न भएको छ । गत माघ ९ गतेबाट सुरु भएको महोत्सव आगामी फागुन १० गते सम्पन्न हुनेछ ।
शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालकाे सभाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन गरिएको छ । प्रदेशसभा सदस्य श्रेष्ठले विद्यालयस्तरका विद्यार्थीलाई खेलकुदमा सहभागी गराउन आवश्यक रहेको बताउनुभयो । विद्यालयस्तरका विद्यार्थीले खेलमा रुचि देखाएमा स्थानीय हुँदै राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हेटौंडा–४ नम्बर वडाका संस्थागत र सामुदायिक गरी ८ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरु सहभागी उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका पूर्वप्रमुख हरिबहादुर महत र ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको विशिष्ट आतिथ्य थियो । कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामालगायतको आतिथ्य थियो ।
प्रतियोगितामा हेटौंडा–४ का रोज एकेडेमी, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि, भुटनदेवी मावि, सत्यम् जेभियर्स मावि, नवोदय शिशु सदन र आमसाई स्कूलको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन समारोहपछि आयोजक, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको ¥यालीले बजार परिक्रमा गरिएको थियो ।
खेलकुद महोत्सव कार्यक्रम अन्तर्गत आज शनिबार आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको सहव्यवस्थापनमा नगरस्तरीय भलिबल, भुटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा नगरस्तरीय क्रिकेट र श्रमिक माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । यस्तै, आगामी सोमबार नवोदय शिशु सदनको सहव्यवस्थापनमा बास्केटबल प्रतियोगिता र सत्यम् जेभियर्स माविको सहव्यवस्थापनमा ४ नम्बर वडाका विद्यालयका महिला शिक्षकहरुबीच टग अफ वार प्रतियोगिता हुनेछ । फागुन ७ गते पुरस्कार वितरण र फागुन ९ तथा १० गते जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता गरेर महोत्सव समापन हुने वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।
शुक्रबार सम्पन्न कक्षा ५ सम्मको लङ्जम्प (छात्र) प्रतियोगितामा आधुनिकका शेख मजिद प्रथम, भुटनदेवीका रन्जन पटेल द्वितीय र भुटनदेवीकै अनिकेश पण्डित तृतीय भएका छन् । लङ्जम्प (छात्रा)मा ब्रह्मदिक्का नन्दनी साह, श्रमिकका जेनिसा माझी र भुटनदेवीका अनिसा यादव क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा ५ सम्मकै एक सय मिटर दौड (छात्र)मा श्रमिक माविका अकलेशकुमार शर्मा प्रथम, ब्रह्मदिकका आलोक चौधरी द्वितीय र भुटनदेवीका रन्जय पटेल तृतीय भएका छन् । छात्राहरुको एक सय मिटर दौडमा नवोदयका इशाना सिन्तान प्रथम, आधुनिकका करिना खातुन द्वितीय र भुटनदेवीका एन्जल यादव तृतीय भएका छन् । कक्षा ५ सम्मकै रिले दौडमा आधुनिक प्रथम, भुटनदेवी द्वितीय र श्रमिक माविको टिम तृतीय भएको छ ।
कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी छात्र सटपुटमा भुटनदेवीका बब्लु राय, श्रमिकका विक्रम पटेल र आधुनिकका किस्मत सुवेदी क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । छात्रा सटपुटमा भुटनदेवीका नैना कुमारी प्रथम, श्रमिकका नन्दनी वर्णवाल द्वितीय र आधुनिकका दीपिका चौधरी तृतीय भएका छन् । छात्रतर्फको लङजम्पमा भुटनदेवीका बब्लु राय र मोहम्मद साजिद क्रमशः प्रथम र द्वितीय हुँदा ब्रह्मदिक्का विपिन लामिछाने तृतीय भए । छात्रा लङजम्पमा ब्रह्मदिकका रमुना थापा प्रथम हुँदा श्रमिक माविका अस्मिता गौतम र सहिमा खातुन क्रमशः द्वितीय र तृतीय भएका हुन् ।
यसैगरी, छात्रको ट्रिपल जम्पमा ब्रह्मदिकका विपिन लामिछाने र बसन्त साह क्रमशः प्रथम र तृतीय हुँदा भुटनदेवीका मोहम्मद साजिद द्वितीय भएका छन् । छात्राको ट्रिपल जम्पमा ब्रह्मदिकका रमुना थापा र नन्दनी साह क्रमशः प्रथम र तृतीय हुँदा श्रमिक माविका सहिमा खातुन द्वितीय भइन् । छात्रको एक सय मिटर दौडमा भुटनदेवीका आशीष यादव प्रथम, आमसाई स्कूलका सुशान्त मगर द्वितीय, भुटनदेवीका साजिद खान र नवोदयका अविराज कार्की तृतीय भएका छन् । छात्राको एक सय मिटर दौडमा श्रमिकका अस्मिता गौतम प्रथम, ब्रह्मदिक्का रमुना थापा द्वितीय, सत्यम् जेभियर्सका अनुष्का सापकोटा र श्रमिकका सहिमा खातुन तृतीय भएका छन् ।
२ सय मिटर दौडमा छात्रतर्फ भुटनदेवीका आशीष यादव, ब्रह्मदिक्का सन्देश थिङ र श्रमिकका रोशन हिम्डुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । छात्राको २ सय मिटर दौडमा भुटनदेवीका कृति यादव, भुटनदेवीकै नैना साह र नवोदयका इशाना सिन्तान क्रमशः प्रथम, द्वितीय र तृतीय भए । छात्रको ४ सय मिटर दौडमा ब्रह्मदिकका रोहितकुमार गुप्ता र मोहित साह क्रमशः प्रथम र द्वितीय हुँदा भुटनदेवीका राज यादव तृतीय भए । छात्राको ४ सय मिटर दौडमा श्रमिकका अस्मिता गौतम प्रथम हुँदा भुटनदेवीका अनुजा यादव र पूर्णिमा खत्री क्रमशः द्वितीय र तृतीय भए ।
८ सय मिटर दौडको छात्रतर्फ श्रमिकका रेहान घलान प्रथम हुँदा आधुनिकका आदित्य साह र अविनेक कुमार यादव क्रमशः द्वितीय र तृतीय भएका छन् । छात्राको ८ सय मिटर दौडमा आधुनिकका हसिना खातुन प्रथम हुँदा भुटनदेवीका अनुष्का यादव र प्रीति यादव क्रमशः द्वितीय र तृतीय भएका छन् । यस्तै, छात्रको एक हजार ५ सय मिटर दौडमा आधुनिकका आदित्य साह र अविनेक कुमार यादव क्रमशः प्रथम र द्वितीय भए भने श्रमिकका टुकनाथ पाण्डे तृतीय भएका छन् । छात्राको एक हजार ५ सय मिटर दौडमा भुटनदेवीका रिया पौडेल र फूलनाज नेसा क्रमशः प्रथम र द्वितीय भएका छन् । कक्षा ६ देखि १० सम्मको रिले दौडमा भुटनदेवी, श्रमिक र ब्रह्मदिकको टिम क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।