हेटौंडाः आन्तरिक राजश्व कार्यालय हेटौंडा शाखाले गत आर्थिक वर्ष २०७६/७७ मा लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन । लक्ष्य भन्दा एक अर्ब कम राजश्व संकलन गरेको छ । ५ अर्ब ८२ करोड ८४ लाख ७४ हजार कर उठाउने लक्ष्य लिएकोमा ४ अर्ब ७८ करोड ७२ लाख ८० हजार रुपैयाँ मात्र संकलन गरेको छ ।
आन्तरिक राजश्व कार्यालयले आव २०७६/७७ मा लक्ष्य भन्दा कम कर संकलन गरेपनि आव २०७५/७६ मा भन्दा बढी राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी हरीराम ढकालले बताउनुभयो ।
कार्यालयले आयकरतर्फ १ अर्ब ३३ करोड ९० लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ८९ करोड ६० लाख रुपैयाँ अर्थात ६८ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । यसैगरी मूल्य अभिवृद्धि कर (मु.अ. कर) तर्फ ९६ करोड ९७ लाख रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेकोमा १ अर्ब २ करोड ९५ लाख रुपैयाँ अर्थात लक्ष्यभन्दा बढी १ सय ६ प्रतिशत राजश्व कर संकलन गरेको छ । त्यसैगरी अन्तशुल्कबाट आन्तरिक राजश्व कर्यालय हेटौंडाले ३ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ उठाउने लक्ष्य लिएकोमा २ अर्ब ५२ करोड १६ लाख रुपैयाँ अर्थात ७२ प्रतिशत मात्र राजश्व कर उठाएको छ । समग्रमा आर्थिक वर्षमा लक्ष्यको ८२ प्रतिशत मात्र राजश्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी ढकालले बताउनुभयो ।
यस्तै आव २०७५/७६ मा ३ अर्ब ९८ करोड ७७ लाख कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब २२ करोड ४३ लाख अर्थात लक्ष्यको १ सय ६ प्रतिशत राजश्व कर उठाएको थियो । कार्यालयले आव २०७५/७६ को तुलनामा आव २०७६/७७ मा ५६ करोड २९ लाख ३२ बढी राजस्व कर उठाएको छ । यद्यपि गत वर्षको लक्ष्यलाई भने कोरोनाको प्रभाव हुँदा मुलुक लकडाउन भएकाले भेट्टाउन नसकिएकोे आन्तरिक राजश्व कार्यालय हेटौंडा शाखाले जनाएको छ ।
प्यान कार्ड बनाउने बढे
आन्तरिक राजश्व कर्यालयले दिएको सूचना अनुसार मकवानपुरमा व्यावसायिक प्याक कार्ड र व्यक्तिगत प्यान कार्ड बनाउनेको संख्या ह्वातै बढेको छ । गत आर्थिक वर्षमा नेपाल सरकारले न्यूनत तलब १३ हजार ५ सय दिने र अनिवार्य प्यान कार्ड बनाएर हरेक श्रमिकलाई करमा समेटेको थियो ।
गत आर्थिक वर्ष २०७६/७७ को पुरा अवधिमा मकवानपुर जिल्लामा व्यावसायिक प्यान कार्ड २ हजार जनालाई वितरण गर्ने लक्ष्य राजश्व कर्यालयले राखेको थियो । राजश्व कर्यालय हेटौंडाले लक्ष्य भन्दा बढी १ हजार ६ सय ३ जनालाई व्यावसायिक प्यान कार्ड वितरण गरेको छ । कार्यालयले कुल ३ हजार ६ सय ३ जनालाई अर्थात लक्ष्यको १८० प्रतिशत बढीलाई वितरण गरेको जनाएको छ ।
त्यस्तै व्यक्तिगत प्यान कार्ड पनि आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा दोब्बर बढी वितरण गरेको छ । कुल ८ हजार वितरण गर्ने लक्ष्य लिएकोमा कुल १६ हजार ८ सय ४६ जनालाई व्यक्तिगत प्यान कार्ड वितरण गरेको आन्तरिक राजश्व कार्यालयका सूचना अधिकारी ढकालले बताउनुभयो ।