हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेजको वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । बुधबार बिहान दौडबाट सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले गर्नुभयो ।
हेटौँडा–१०, बुद्धचोकबाट सुरु भएको दौडमा कक्षा–११ का अजित खान प्रथम भएका छन् । उनले बुद्धचोकबाट कलेज गेटसम्मको दौड ११ मिनेटमा पूरा गर्दै प्रथम भएका हुन् । १४ मिनेट २० सेकेन्डमा दौड पूरा गरेर कक्षा–११ का रोशन चौधरी द्वितीय भएका छन् भने १४ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै मधुसुदन अर्जेल तृतीय भएका छन् ।
दौड प्रतियोगितामा कक्षा–११ देखि स्नातक तहसम्मका २३ जना विद्यार्थीको सहभागिता रहेको कलेजका प्रिन्सीपल श्रीबहादुर कार्कीले जानकारी दिनुभएको छ । फागुन ३ गतेसम्म सञ्चालन हुने कलेजको वार्षिक खेलकुद कार्यक्रममा ३ सय जना विद्यार्थीको सहभागिता रहेको प्रिन्सीपल कार्कीले बताउनुभयो । खेलकुद प्रतियोगिता अन्तर्गत रिले दौड, विस्तारै स्कूटर चलाउने प्रतियोगिता लगायतका खेलहरु सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
वार्षिक खेलकुदमा भलिबल, व्याड्मिन्टन, फुटबल, क्रिकेट, इ–फुटबल, डोरी तान्ने, हाजिरीजवाफ लगायत खेलहरु सञ्चालन हुनेछन् । हेटौँडा सिटी कलेजकी संस्थापक रमिता पाण्डेको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा ५ नम्बर वडाका वडाध्यक्ष सुशील घिमिरेको विशिष्ट आतिथ्य रहेको थियो ।