हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले बेरोजगार व्यक्तिको तथ्यांक संकलन थालेको छ । गाउँपालिकाले बेरोजगार व्यक्तिलाई कार्यालयमा सूचीकृत हुन मंगलबार एक सूचना जारी गरेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिताका लागि गाउँपालिकाले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले जानकारी दिनुभयो । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११ को उपदफा १, रोजगारीको हक सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७७ को नियम ७ को उपनियम १ र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ को दफा १८ उपदफा १ बमोजिम न्यूनतम रोजगारी प्रदानका लागि सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा न्युनतम रोजगारीमा संलग्न हुन ईच्छुक १८ वर्ष उमेर पूरा भई ५९ वर्ष ननाघेका बेरोजगार व्यक्तिहरुको सुचीमा सूचीकृत हुन सक्नेछन् । गाउँपालिकाका स्थायी बसोबास गरेको व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातहरु आगामी फागुन १ गतेदेखि २९ गते भित्र निवेदन दिन सूचनामा उल्लेख छ ।