अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाध्यक्ष नवीन सिग्देल ।

हेटौँडा : मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौँडा–४, हुप्रचौरमा वडा अध्यक्ष नवीन सिग्देलले अम्पायरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको सुरुवात गर्नुभएको हो ।

दोस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मकवानपुर क्रिकेट क्लब र क्रिकेट एकेडेमी मकवानपुर (क्यान) ११ बीचको खेलमा टस जितेर क्यान) ११ मकवानपुरलाई व्याटिङको निम्तो दिएको छ । मंगलबारै हुने दोस्रो खेलमा ओमनगर क्रिकेट क्लब र न्यू मर्निङ क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ । छनोट प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक संजोग पोखरेलले जानकारी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेण्डरअनुसार हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुरका खेलाडीहरु सहभागी गराउन छनोट प्रतियोगिता आयोजना गरेको संयोजक पोखरेलले बताउनुभयो । प्रतियोगितामा सहभागी भएका खेलाडीहरुमध्ये पहिलो चरणमा १८ जना खेलाडी छनोट गरेपछि १४ जनालाई प्रारम्भिक सूचीमा राख्ने उहाँले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडी, सर्वोकृष्ट व्याट्सम्यान, सर्वोकृष्ट बलरलाई पनि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।