नवनिर्मित भवनको कागजपत्र हस्तान्तरण गरी भवन हस्तान्तरण गरिँदै ।

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालयलाई शैक्षिक भवन हस्तान्तरण गरिएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको विद्यालयलाई जापान सरकारको ऋण सहयोगमा निर्मित भवन बुधबार हस्तान्तरण गरिएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकले ९ नम्बर वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णुमणि अधिकारी, प्रधानाध्यापकसहितको टोलीलाई भवन हस्तान्तरण गर्नुभएको हो ।

प्रगति माविका सहायक प्रधानाध्यापक किशोर पराजुलीका अनुसार प्रगति माविको शैक्षिक भवन ४ करोडको लागतमा निर्माण गरिएको हो । हस्तान्तरण गरिएको भवनमा १२ वटा कक्षाकोठा रहेका छन् । शैक्षिक भवन सँगै अपाङ्गमैत्री शौचालय समेत निर्माण गरी हस्तान्तरण गरिएको छ । भूकम्पले शैक्षिक भवनमा क्षति पुर्‍याए पछि पर्याप्त कक्षाकोठा नभएकै कारण प्रगति माविले बिहानी र दिवा गरी दुई सत्रमा पठनपाठन गर्दै आएको थियो । नयाँ भवन हस्तान्तरण भएसगै कक्षाकोठा पर्याप्त हुने सहायक प्रधानाध्यापक पराजुलीले बताउनुभयो । लकडाउनको समयमा विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको थियो भने अनलाइनको पहुँच नभएकाहरुलाई सम्पर्क कक्षा सञ्चालन गरिरहेको सहायक प्रधानाध्यापक किशोर पराजुलीले बताउनु भयो ।