कराँतेमा उपविजेता बनेको हेटौंडाको टिम ।

हेटौंडा: प्रथम संस्करणको अन्तर नगरपालिकास्तरीय आमन्त्रण सितोरियो कराँते प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा बुधबार र बिहीबार भएको प्रतियोगितामा हेटौंडाको टिम उपविजेता बनेको छ ।

नेपाल सितोरियो कराँते संघ हेटौंडाको टिमले २ वटा स्वर्ण, २ वटा रजत र २ वटा काँस्य पदक प्राप्त गर्दै उपविजेता बन्न सफल भएको नेपाल सितोरियो कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामाले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी १४ जनामध्ये ६ जना खेलाडीहरुले पदक दिलाउँदा हेटौंडाको टिम दोस्रो स्थानमा पर्न सफल भएको संघका अध्यक्ष लामाले बताउनुभयो ।

दोस्रो भएको हेटौंडाको टिमले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा महिलातर्फ ३५ केजी तौल समूहबाट अनुस्का लोप्चन र ५० केजी तौल समूहबाट सुजता ब्लोन स्वर्ण पदक दिलाएका छन् । ६० केजी तौल समूहबाट महिलातर्फ डोल्मा लामा र पुरुषतर्फ ७५ केजी तौल समूहबाट उत्तम स्याङ्तानले रजत पदक दिलाएका छन् । पुरुषतर्फ ५५ केजी तौल समूहबाट छोइसाङ थोकरले काँस्य पदक दिलाउँदा महिलातर्फ ७१ केजी तौल समूहबाट आकृति पुलामीले पनि काँस्य पदक दिलाएकी हुन् ।

खेलाडीहरुको प्रतिनिधित्व गरेर प्रशिक्षक रामलाल थोकर, व्यवस्थापक भीम घलान र रेफ्री विष्णु श्रेष्ठ प्रतियोगितामा सहभागी हुनु भएको थियो ।