शिक्षक हाजिरी जवाफ प्रतियोगितामा सहभागी शिक्षक।

हेटौंडा: हेटौंडा–१७, हटियास्थित बालबोध माध्यमिक विद्यालयको ४७ औं वार्षिकोत्सवको अवसरमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । आइतबारदेखि सुरु भएको विविध कार्यक्रम अन्तर्गत मंगलबार सामुदायिक विद्यालयका शिक्षकहरुबीच हाजिरीजवाफ प्रतियोगिता भएको हो ।

प्रतियोगितामा हेटौंडा–१७ स्थित राजदेवी माध्यमिक विद्यालय प्रथम, हेटौंडा–१८ स्थित कमला आधारभूत विद्यालय द्वितीय र हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालय तृतीय भएको बालबोध माध्यमिक विद्यालयका शिक्षक रमेश रिजालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा ७ वटा विद्यालयको सहभागिता रहेको थियो । बालबोध माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा प्रतियोगिता भएको हो । आइतबार र सोमबार विद्यार्थीबीच भलिबल, बेलुन फुटाई, दौड, हाजिरीजवाफ प्रतियोगिता भएको छ । बुधबार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गर्दै विद्यालयको वार्षिकोत्सव समापन गरिनेछ । विद्यालयमा करिब ४ सय विद्यार्थी अध्ययनरत् छन् ।