हेटौंडा: हेटौडा–९ मा रहेको कुस्माण्ड सरोवर त्रिवेणी धाममा एक सय ३२ जनाको ब्रतबन्ध गरिएको छ । एक महिने मकर स्नान तथा देवी भागवत महापुराणको क्रममा व्रतबन्ध भइरहेको धामका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
व्रतबन्धको मुहुर्त तथा विभिन्न अवसरमा सामूहिक व्रतबन्ध गरिएको छ । धाममा माघ १ गते ३५ जना, २ गते २२ जना, ३ गते २५ जना, १८ गते ३५ जना र २१ गते १५ जनाको व्रतबन्ध भएको छ । महापुराण समापनको दिन माघ ३० गते ४० जनाभन्दा बढीको व्रतबन्ध गरिने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
गत पुस २९ गते पूर्वाङ्ग गरी माघ १ गतेबाट महापुराण सुरु भएको थियो । माघ २० देखि ३० गतेसम्म प्राडा माताकान्ता भट्टराई र गोपालप्रसाद चालिसेले प्रवचन गर्नु हुनेछ । यस्तै, माघ १ गतेबाट १९ गतेसम्म जीवराज बख्रेल र यदु अधिकारीले प्रवचन तथा कथा वाचन गर्नु भएको थियो । महाज्ञको उद्घाटन हेटौंडा उपमाहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले गर्नुभएको थियो ।