प्रतिस्पर्धामा सहभागी रुपेश र सिन्दिरा ।

हेटौँडाः नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौँडामा २५ औं राष्ट्रिय पुरुष तथा १० औं राष्ट्रिय महिला बुद्धिचाल प्रतिस्पर्धामा २४ खेलाडीबिच ११ चरणको राउण्ड रोविन खेल जारी रहेको हो । शुक्रबार नवौं चरणको खेल सम्पन्न हुँदा पुरुषतर्फ पूर्व नेपाल च्याम्पियन रुपेश जैसवाल र महिलातर्फ वर्तमान नेपाल च्याम्पियन सिन्दिरा जोशी अपराजित रहँदै शीर्ष स्थानमा रहेका छन् ।

रौतहटका रुपेश जैसवाल र काठमाडौंकी सिन्दिरा जोशी दुबैले आ–आफ्नो विधामा समान ७.५ अंक बनाई अग्रता कायम राखेका हुन् । दुबैले समान ६ जीत र ३ बराबर खेल खेलेका छन् । अर्कोपटक २६ औं राष्ट्रिय प्रतियोगितामा सिधा प्रवेश गर्ने बाटो भनेको शीर्ष ३ मा रहनु हो । शीर्ष ३ को होडमा काठमाडौंका युवा पुरुषोत्तम सिलवाल र वर्तमान नेपाल च्याम्पियन राजन सुवेदी समान ६.५ अंक बनाएर संयुक्त दोश्रो स्थानमा उभिएका छन् । काजकिस्तानमा हुने चेस ओलम्पियाडमा समेत सहभागी हुन कडा प्रतिस्पर्धामा मकवानपुरका एफएम क्षितिज भण्डारी ६ अंकसहित चौथो स्थानमा, झापाका शुश्रुत दहाल र दोलखाका आशीष फुँयाल समान ५.५ अंक जोडेर संयुक्त पाँचौ स्थानमा रहेका छन् ।

यसैगरी, महिलातर्फ अप्रत्याशित खेल प्रदर्शन गरेकी काठमाडौंकी एञ्जल महर्जनले ७ अंक बनाएर दोश्रो स्थानमा र मोरङकी शान्ति धिमाल ६.५ अंकमा जोडेर तेस्रो स्थानमा रहेकी छिन् । बाँकेका इशा गिरी र झापाका पुनम प्रसाईं दुबैले समान ६ अंक बटुल्दै प्रतियोगितामा मुकाबिला गरिरहेका छन् । स्ट्यान्डर्ड क्लासिकल राष्ट्रिय प्रतियोगिताको पुरुषतर्फ दशौं चरणको खेल पुरुषोत्तमले सरोज महर्जन, क्षितिजले प्रेमकृष्ण, राजनले शुश्रुत, धिरेनले विनय, रुपेशले आशीष र नवीनले रिजेन्द्रसँग प्रतिस्पर्धा गरेका छन् । ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ड रहेको राष्ट्रिय महिला खेलतर्फ इशाले लक्ष्मी, पुनमले नयुमा, सुशीलाले निहाना, कृतिसाराले शान्ति, सिन्दिाराले दानिशा र एञ्जलले बिनितासँग स्पर्धा गरेका हुन् ।

राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान ८ बजे सुरु हुने संयोजक धरमबहादुर लामाले जानकारी दिनुभयो । नेपाल बुद्धिचाल महासंघका महासचिव लामाले लगत्तै विजेतालाई पुरस्कार वितरण एवम् चेस खेल प्रवद्र्धनमा योगदान पुर्‍याएका दुई जना अग्रज पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।