हेटौँडा ः जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले लागूपदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई चालकलाई बिहीबार नियन्त्रणमा लिएको छ ।
त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाँउपालिका–१, बाघझोरामा सवारीसाधन रोकेर सुरक्षाजाँच गर्दा ना १ ज ५४४६ नम्बरको सुमो चालकसहित दुई जनाले लागूपदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिका–७ का ३५ वर्षीय सुमो चालक सन्तोष सञ्जेल र ललितपुर जिल्लाको गोदावरी नगरपालिका–४ का ३६ वर्षीय सुविन पहरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूलाई लागूऔषध मुद्दा कसुरमा मकवानपुर जिल्ला अदालत हेटौंडाबाट १० दिनको थप म्याद लिई अनुसन्धान भइरहेको जनाएको छ ।