हेटौंडा: बुधबारबाट हेटौंडा–४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापनमा दोस्रो वडा खेलकुद महोत्सव सुरु भएको छ । आउँदो फागुन १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा पहिलो दिन वडास्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको हो ।
प्रतियोगितामा ब्रह्मदिक् एकेडेमी बोर्डिङ स्कूल प्रथम भएको छ । आभाष घिमिरे, दिव्यान्स शाही र कृष्मा लौडारीको समूह प्रथम हुन सफल भएको शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दहालले जानकारी दिनुभयो । प्रतियोगितामा नवोदय शिशु सदन बोर्डिङ स्कूल द्वितीय भएको छ । आर्शिया बर्तौला, बिदान पकुवाल र पर्जन्य कुशवाहाको समूह द्वितीय भएको हो । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तृतीय भएको छ । आभाष कटुवाल, निरञ्जनकुमार यादव र सुमन यादवको समूह तृतीय हुन सफल भएको उहाँले जानकारी दिनुभयो ।
वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय र सत्यम जेभियर्स बोर्डिङ स्कूलको टिम पनि सहभागी भएका थिए । कार्यक्रममा हेटौंडा–४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देललगायतको उपस्थिति रहेको थियोे ।
महोत्सवको दोस्रो दिन माघ १३ गते वक्तृत्वकला प्रतियोगिता हुनेछ । तेस्रो दिन माघ १४ गते वादविवाद प्रतियोगिता हुनेछ । ४ वटा विधामा नगरस्तरीय, २ वटा विधामा जिल्लास्तरीय र अन्य वडास्तरीय गरेर २६ विधामा प्रतिस्पर्धा हुने बताइएको छ । महोत्सवको अन्तिम दिन जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता हुनेछ ।