नेपालमा गाँजालाई लागूऔषधको रुपमा परिभाषित गरेर कानुनले प्रतिबन्धित गरेको छ । गाँजाको खेती, उत्पादन, ओसारपसार, बिक्री र सेवनजस्ता सबै काम गैरकानुनी हो । तर, प्रतिबन्धित गाँजाको कारोबार मौलाउँदै गइरहको छ । जसको ज्वलन्त उदाहरण बनेको छ– पछिल्ला १० दिनमा मकवानपुर प्रहरीको कारबाही । अहिले दिनहुँजसो मकवानपुर प्रहरीले गाँजा बरामद गरिरहेको छ । गाँजासँगै ओसारपसारमा सलग्न व्यक्ति तथा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । हरेक वर्ष गाँजा खेती नष्ट गर्दै आएको प्रहरीले दिनहुँ गाँजा बरामद गरेको घटनाले प्रहरीको गाँजा खेती नष्ट गर्ने अभियानलाई औचित्यहीन मात्र नभई केबल औपचारिकतामा सिमित गरिरहेको छ । गाँजा खेतीलाई नियमन गरेर वैधानिकता दिनुपर्ने चर्चा भइरहँदा गाँजाको उत्पादन र कारोबारमा सरकारको प्रयत्न निरर्थक बन्दै गएको छ ।
मकवानपुर प्रहरीले मंगलबार मनहरी–८, सिम्पानीबाट ८१ किलो अवैध लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । मंगलबार साँझ सवारी साधन रोकी सुरक्षा जाँच गर्ने क्रममा प्रहरीले राक्सिराङबाट हेटौंडा आउँदै गरेको बोलेरो पिकअपबाट गाँजासहित कैलाश–४ का २२ वर्षीय युवकलाई पक्राउ गरेको हो । मंगलबार बिहानमात्रै प्रहरीले मनहरीबाटै ६ किलो गाँजासहित मनहरी–९ का ५४ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट ११ केजी गाँजासहित पर्सा जिल्लाका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार राति वीरगञ्ज–१९ बाट १९५ किलो गाँजासहित प्रहरीले हेटौंडा–१२ का ३६ वर्षीय युवकलाई पक्राउ गरेको छ । ट्रकबाट गाँजा अनलोड गरी परालको थुप्रोमा लुकाएर भाग्ने क्रममा ट्रक चालकसमेत रहेका उक्त युवकलाई प्रहरीले पक्राउ गरेको हो । गत बिहीबार पनि मकवानपुर प्रहरीले राक्सिराङ–५, चैनपुरबाट २१२ केजी गाँजासहित बोलेरो जिप नियन्त्रणमा लिएको थियो । उक्त जिपमा सवार दुई जना भने भाग्न सफल भएका थिए ।
अघिल्लो मंगलबार हेटौंडा–१५, रातोेमाटेबाट मकवानपुर प्रहरीले १११ केजी लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा गाँजा र गाडीसहित कैलाश–२ का गाडी चालकलाई प्रहरीले पक्राउ गरेको हो । अघिल्लो आइतबार हेटौंडा–१९, नेवारपानीस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले १६ किलो गाँजासहित मनहरी–३ का ४० वर्षीय र हेटौंडा–११ का १९ वर्षीय युवकलाई पक्राउ गरेको थियो । सोही दिन बिहान रातोमाटेबाट प्रहरीले १०१ किलो गाँजासहित भारतीय कार र वीरगञ्ज–२६ का २० वर्षीय एक युवकलाई पक्राउ गरेको थियो । पछिल्लो १० दिनको अवधिमा प्रहरीले ८ पटक गरी ७३३ केजी लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको ४ वटा सवारी साधनसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८ जना ४० वर्ष मुनिका छन् ।
दिनहुँजस्तो अवैध लागूऔषध गाँजाको ओसारपसारमा संलग्न व्यक्तिसहित गाँजा बरामद गर्नुलाई गाँजा नियन्त्रणमा प्रहरी प्रशासन असफल बन्दै गएको पुष्टि गरेको छ । कानुनीरुपमा प्रतिबन्धित गाँजाको कारोबार फस्टाउँदै जानु भनेको गाँजाको कारोबार प्रहरीको नियन्त्रणबाहिर रहेको मान्न सकिन्छ । प्रहरीले धेरैजसो गाँजा बरामद विशेष सुराकीको आधारमा गर्दछ । बरामद गरिएका भन्दा कयौं गुणा बढी गाँजा प्रहरीले थाहा नपाउने गरी ओसारपसार भइरहेको अुनमान लगाउन कुनै कठिनाइ हुँदैन । प्रत्येक स्थानीय तहमा प्रहरी कार्यालय छ । प्रहरीले चाहेमा गाँजा खेती गर्नेको पूर्ण विवरण संकलन गरी गाँजाको विरुवा फँडानी गरेर नष्ट गर्न सकिने भए पनि प्रहरीले औपचारिकताका लागि मात्र गाँजा फँडानी अभियान चलाउने गरेको आशंका गर्न सकिन्छ । स्थानीय सरकारले पनि गाँजा खेती निरुत्साहित गर्न खासै चासो देखाएको देखिँदैन । प्रतिबन्धित गाँजाको कारोबार मौलाउनुले कानुनी राज्यको समेत उपहास हुने निश्चित छ ।