बगमती गाउँपालिकाले जारी गरेको सुचना ।

हेटौँडा ः मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने बागमती गोल्डकप फुटबल प्रतियोगिताको मिति सरेको छ । फागुन १ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिताको मिति सरेको हो । गाउँपालिकाको सहिद स्मृति रंगशालामा हुने सातौं संस्करणको बागमती गोल्डकप प्रतियोगिता फागुन ३ गते सुरु हुने भएको छ ।

बुधबार बागमती गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक रहर सिंह थिङले एक सूचना जारी गर्नुहुँदै तयारीका लागि समयको अभाव परेको कारणले प्रतियोगिताको मिति २ दिन सारिएको जानकारी दिनुभएको छ । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिकाको ३० लाख रुपैयाँ बजेट राखेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन ७, मोफसलका ३ सहित १० टिमको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ७४ लाख ७३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई दश हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ । गत वर्षको प्रतियोगिताको उपाधि मच्छिन्द्र युथ क्लब काठमाडौंले जितेको थियो ।