गढन (बागमती) ः पूर्वी मकवानपुरको बागमती गाँउपालिका–३ का ३ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । मंगलबार एकै दिन बागमती गाँउपालिकाको ३ नम्बर वडाका ३ वटा विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीलाई स्वीटर, टोपी, जुत्ता, झोला र कपी सहयोग गरिएको हो ।
बागमती गाँउपालिका–३ स्थित फूलमन्दिर आधारभूत विद्यालयका ११ जना विद्यार्थी, जनप्रभात आधारभूत विद्यालयका ३२ जना विद्यार्थी र जनश्रम आधारभूत विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री सहयोग गरिएको छ । डिभाइन युथ क्लब नेपाल हेटौँडा तथा जगद्गुरुत्तम मन्दिर अध्यात्म केन्द्रले संयुक्तरुपमा सहयोग गरेको हो । वडा अध्यक्ष कमानसिं पाख्रिनको उपस्थितिमा सहयोग सामग्री हस्तान्तरण गरिएको हो । वडाध्यक्ष पाख्रिनले मानव कल्याण हेतु गरिएको सामाजिक कामका लागि धन्यवाद व्यक्त गर्नुभयो ।
फूलमन्दिर आधारभूत विद्यालयमा २३ जना विद्यार्थी भर्ना भएको भए पनि जम्मा ११ जना विद्यार्थी मात्रै नियमित विद्यालय आउने गरेको प्रधानाध्यापक दीप बहादुर पाख्रिनले जानकारी दिनुभयो । चिसो र शैक्षिक सामग्री अभाव भएका कारण बालबालिकाको पठनपाठन प्रभावति नहोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डिभाइन युथ क्लब नेपालले जनाएको छ । डिभाईन युथ क्लब नेपालले हरेक वर्ष विद्यार्थीलाई सहयोग गर्दै आएको छ । कार्यक्रममा बागमती गाँउपालिकाको कार्यपालिका सदस्य एवम् ३ नम्बर वडा सदस्य भगवती माझी, वडा सदस्य तुल बहादुर मोक्तान, गाँउपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र गोलेको पनि आतिथ्य रहेको थियो ।