हेटौंडा उपमहानगरपालिका ।

हेटौंडा: हेटौंडा उपमहानगरपालिकाले सोमबार बालमैत्री स्थानीय शासनयुक्त घोषणाबारे भइरहेको कामकारबाहीको समीक्षा गरेको छ । घोषणाका लागि आवश्यक सूचक हासिल गर्नु उपलब्धि भएको समीक्षाबाट निष्कर्ष निकालिएको हो ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा मूल समारोह समिति गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा सचिवालय गठन गरिएको छ । यस्तै, वडाका अध्यक्षहरुको संयोजकत्वमा विभिन्न उपसमिति पनि गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिका प्रशासकीय प्रमुख सूर्यप्रसाद गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार १४ वटा वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिसकिएको छ । उपमहानगरपालिकाको १ नम्बर वडालाई ११ गते, ३ नम्बर वडालाई १३ गते र १५ नम्बर वडालाई १५ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने उहाँले जानकारी दिनुभयो । १४ नम्बर वडा भने बालमैत्री स्थानीय शासनयुक्त घोषणाको तयारीमा नरहेको उहाँले बताउनुभयो ।

विभिन्न व्यस्तताका कारण वडाले बालमैत्री वडा घोषणा गर्न नसके उपमहानगरपालिकासँगै घोषणा गरिने उहाँले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाका लागि जिल्ला समन्वय समिति मकवानपुरको स्वीकृति लिइसकेको र अब बागमती प्रदेश सरकारको सिफारिस लिएर घोषणाको तयारीमा उपमहानगर रहेको महाशाखा प्रमुख लामिछानेको भनाइ छ ।