शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया पश्चात तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारसम्बन्धी एक दिवसीय अन्तरक्रिया भएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो ।

बागमती गाउँपालिका र बकैया गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थितिमा कार्यक्रम भएको जिल्ला समन्वय समिति मकवानपुरका कर्मचारी भीमप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रममा शिक्षकको गुणस्तर कसरी सुधार गर्ने, उपलब्धीमूलक बनाउने, सुधारमा के के आवश्यकता पर्छ भन्ने विषयममा छलफल भएको बताइएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदिप गिरी र प्रगति माध्यमिक विद्यालयका प्राचार्य किशोर पराजुलीले २ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी शान्ति विक, बकैया गाउँपालिकाका प्रमुख धर्मराज लामिछाने, बागमती गाउँपालिका प्रमुख सर्केश घलान, बालसञ्जालका सदस्य तथा अभिभावकको उपस्थिति रहेको थियो ।