हेटौंडाः शुक्रबार हेटौंडामा गायिका आस्था राउतको सांगीतिक प्रस्तुति हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पस कमिटीको आयोजना तथा नगरस्तरीय युवा सञ्जाल हेटौंडाको समन्वयमा हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा गायिका राउतको सांगीतिक प्रस्तुति हुने भएको हो ।गायिका राउतको सांगीतिक कार्यक्रममा सहभागी हुन चाहने दर्शकले प्रतिव्यक्ति २ सय ५० रुपैयाँको टिकट लिनुपर्ने स्ववियु हेटौंडा क्याम्पस कमिटी अध्यक्ष अभि मैनालीले जानकारी दिनुभएको छ । हेटौंडा–४, पारिजातपथस्थित ज्ञानभण्डार पुस्तक सप्लायर्सबाट टिकट उपलब्ध हुने अध्यक्ष मैनालीले बताउनुभयो ।

सांगीतिक कार्यक्रमलाई साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेलले सहजीकरण गर्नुहुनेछ । ‘अभिभावकविहीन छात्राहरुमा लगानी, सुनिश्चत भविष्यका लागि महिला सशक्तिकरणको थालनी’ भन्ने मूल नाराका साथ गायिका राउतको लाइभ सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको उहाँले बताउनुभयो । विशेषगरी गरिब तथा विपन्न वर्गका छात्राको शिक्षामा सहयोग गर्नका लागि कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । अभिभावक नभएका छात्राहरुको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष निर्माणका लागि कार्यक्रम गर्न लागेको अध्यक्ष मैनालीले जानकारी दिनुभयो ।

मकवानपुर जिल्लामा विद्यालय, क्याम्पसहरुबाट छात्राहरुले पढाइ छाड्ने क्रम बढ्दोरुपमा देखिएका कारण स्ववियु हेटौंडा क्याम्पस कमिटीले सहयोग गर्न लागेको उहाँको भनाइ छ । कार्यक्रममा करिब ३ हजारको हाराहारीमा दर्शकहरु सहभागी हुने अनुमान गरिएको स्ववियु अध्यक्ष मैनालीले बताउनुभयो ।