नेपाल भूकम्पको जोखिमयुक्त देशमा पर्दछ । भूकम्प जाने सम्भावनाका आधारमा नेपाललाई विश्वको ११ औँ जोखिमयुक्त देश मानिन्छ । नेपालको कमजोर भौगर्भिक अवस्था र बारम्बार भूकम्प जाने गरेका कारण भूकम्पीय जोखिमयुक्त मान्न सकिन्छ । बेलाबेलामा साना–ठूला भूकम्पका घटनाले नेपालीलाई झस्काउने गरेको भए पनि भूकम्पका कारण नेपालमा व्यापक जनधनको क्षति हुनसक्ने जोखिमलाई भने कम गर्न सकिएको छैन । भूकम्पबाट भएका र हुनसक्ने क्षतिलाई नेपालीले प्रकृतिको लीला भन्दै टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । नेपालमा जुनसुकै बेला र जुनसुकै क्षेत्रमा विनाशकारी भूकम्प जान सक्ने जोखिम उच्च रहेकाले यसबाट हुने क्षति न्यूनीकरण गर्न पर्याप्त सुरक्षा र सचेतनाका उपाय अपनाउनुपर्ने सल्लाह विज्ञहरुले दिइरहेका छन् । भूकम्प र त्यसले निम्त्याउने क्षतिबारे चेतना जगाउन भूकम्प सुरक्षा दिवस मनाउने गरिएको छ । विसं १९९० सालको महाभूकम्पको स्मरणमा हरेक वर्ष माघ २ गते राष्ट्रिय सुरक्षा दिवस मनाइन्छ ।

यस वर्ष बुधबार २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । २०५५ सालदेखि वर्षेनि मनाउन थालिएको यो दिवसको अवसरमा ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरिएको छ । भूकम्प जाने जोखिमपूर्ण क्षेत्रमा रहेको नेपालमा भौतिक संरचनालाई भूकम्प प्रतिरोधी बनाउन नसक्दा २०७२ सालको भूकम्पमा ठूलो क्षति बेहोर्नुपरेको यथार्थ भुल्नु हुँदैन । भूकम्प कहिले, कहाँ, कत्रो आउँछ भनेर पत्ता लगाउने कुनै प्रविधि छैन । तर, भूकम्पीय जोखिमयुक्त देश भनेर पहिचान भइसकेपछि हामी नेपाली स्वयम सावधान बन्नुपर्छ र यसका लागि वर्षेनि मनाउँदै आएको भूकम्प सुरक्षा दिवसले स्मरण गराउने काम गर्दछ । भूकम्प आफैं खतरा हुँदैन, यसबाट हुने भौतिक क्षतिले खतरा निम्त्याउने हो । भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्नु नै भूकम्पबाट जोगिने सबैभन्दा उपयुक्त उपाय हो । भूकम्पको जोखिम बुझेर सुरक्षित हुने उपाय अपनाउन सकेमा यसबाट हुने क्षति कम गर्न सकिन्छ ।

नेपालमा १९९० सालको भूकम्पका कारण ८ हजार ५ सय १९ जनाको ज्यान लिएको थियो भने घर, विद्यालय, सार्वजनिक भवन आदि गरी झण्डै २ लाख ७ हजार ७ सय ४० संरचनाहरु ध्वस्त भएका थिए । त्यसपछि, २०४५ सालमा सिक्किम केन्द्रविन्दु भएर गएको ६.६ रेक्टर स्केलको भूकम्पले ७ सय २१ जनाको मृत्यु हुनुका साथै ६५ हजार घर भत्किएका थिए । २०७० साल असोजमा ६.८ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । यसैगरी, २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपश्चात्का पराकम्पमा परेर ८ हजार ८ सय ९१ जनाको मृत्यु हुनुका साथै २२ हजार २ सय व्यक्ति घाइते भएका थिए । उक्त भूकम्पले ६ लाख ८ हजार १ सय ५५ व्यक्तिगत घर र २ हजार ६ सय ८७ सरकारी भवन पूर्ण क्षति भएको तथ्यांक छ । करिब एक वर्षअघि पश्चिम नेपालको जाजरकोट क्षेत्रका भूकम्प पीडितको अझै व्यवस्थापन हुन सकेको छैन । केही दिन अघिमात्र चीनमा केन्द्रविन्दु भएर गएको करिब ७ रेक्टर स्केलको भूकम्पले नेपालका धेरै भूभाग हल्लाएर भूकम्पको जोखिमलाई पुनः स्मरण गराएको छ ।

भूकम्पीय जोखिम उच्च रहेको भए पनि नेपालमा भूकम्प प्रतिरोधी संरचना निर्माणमा बेवास्ता गरिँदै आएको छ । बारम्बार भूकम्पले झस्काइरहँदा पनि अधिकांश नेपाली नागरिक भूकम्पीय सुरक्षाको दृष्टिकोणले उपयुक्त घर संरचना निर्माणमा उदासिन बन्ने गरेका छन् । सरकारले भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि नीति, नियम बनाएको भए पनि नागरिकस्तरबाट त्यसको प्रभावकारी पालना भइरहेको छैन । भूकम्पीय जोखिमयुक्त संरचनाका कारण भविष्यमा भूकम्पबाट ठूलो क्षति हुनसक्ने सम्भावना जस्ताको त्यस्तै रहेको छ । २०७२ सालको भूकम्पपछि निर्माण भएका अधिकांश सरकारी संरचना भूकम्पप्रतिरोधी भए पनि आम नागरिकले निर्माण गरेका आवासीय तथा व्यावसायिक संरचनाहरु पूर्णरुपमा भूकम्प प्रतिरोधी छैनन् । वर्षेनि भूकम्प सुरक्षा दिवस मनाइरहँदा भूकम्प प्रतिरोधी संरचना निर्माणका पर्याप्त चेतना जगाउन नसक्नुले दिवसको औचित्य कम भइरहेको मान्न सकिन्छ ।