हेटौंडाः भूकम्प सिकाइ प्रदर्शनीमा हेटौंडा–४ स्थित नवोदय शिशु सदन प्रथम भएको छ । २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बुधबार भएको प्रदर्शनीमा नवोदय शिशु सदन प्रथम भएको हो ।

हेटौंडा उपमहानगरपालिका कार्यालय परिसरमा भएको भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनी कार्यक्रममा हेटौंडा–४ कै भुटनदेवी माध्यमिक विद्यालय द्वितीय भएको छ । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यालयहरुलाई सहभागी गराएर प्रतिस्पर्धात्मक प्रदर्शनी कार्यक्रम आयोजना गरेको हेटौंडा उपमहानगरपालिकाको नगर भवन इजाजत शाखा प्रमुख उद्धव रिमालले जानकारी दिनुभएको छ । सुरक्षा निकाहरुबाट सशस्त्र प्रहरी र प्रहरीबाट भूकम्प सुरक्षासम्बधी प्रदर्शनी गरिएको प्रमुख रिमालले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकामा दर्ता भएका इन्जिनियरिङ कन्सल्टेन्सीबाट भूकम्प सिकाइसम्बन्धी प्रदर्शनी भए पनि प्रतिस्पर्धात्मक प्रतियोगिता नगरिएको उहाँले बताउनुभयो । प्रदर्शनीमा सहभागी भएका ३ विद्यालयहरुबीच प्रतियोगिताको आयोजना गराइएको उहाँले बताउनुभयो ।प्रत्येक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हेटौंडा उपमहानगरपालिकाले एक लाख रुपैयाँको बजेटमा कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । हेटौंडाको १९ वटै वडामा तथा सहकारी कार्यालय तथा सार्वजनिक स्थानमा भूकम्पबाट बच्ने उपायबारे सचेतनामूलक ब्यानर टाँसेर चेतना अभिवृद्धि गराएको उहाँले बताउनुभयो ।

भुटनदेवी माध्यमिक विद्यालयका विद्यार्थीले भूकम्प आएको अवस्थामा मुमेन्ट अफ टेक्निकल प्लेटको प्रदर्शनी गरेका थिए । उनीहरुको समूहले भूकम्पको समयमा इपीसेन्टरलाई अब्जर्भेट गर्न सहयोग गर्ने, विद्यालयमा र घरमा भूकम्प डिटेक्टरको प्रयोग गर्न सकिने र केन्द्रविन्दुको बारेमा पूर्वजानकारी गराउने सामग्री प्रदर्शन गरेको थियो । वंशगोपाल माध्यमिक विद्यालयका विद्यार्थीले घरसँग जमिनलाई छुट्याउने विषयको प्रदर्शनी गरेका हुन् । भूकम्प प्रतिरोधी घरको मोडल, आपतकालीन तयारीको किट, सुरक्षासम्बन्धी जानकारीको ब्रोसर र भूकम्पसम्बन्धी सिर्जनाहरुको प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमा सहरी विकास भवन कार्यालय प्रमुख सुबोध अधिकारी, भौतिक पूर्वाधार विकास मन्त्रालयको महाशाखा प्रमुख भूपेन्द्र यादव, सहरी विकास भवन कार्यालयका इन्जिनियर राजन गौतमले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । भूकम्प आएको समयमा सुरक्षित स्थानमा पुग्नुपर्ने, टेबल तथा बलियो संरचनाको मुनि बस्नुपर्ने र झ्याल, ऐना र भारी सामानहरुबाट टाढा रहनुपर्ने बताइएको छ ।