हस्ताक्षर पत्रमा हस्ताक्षर गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा ।

हेटौंडाः बुधबार हेटौंडा उपमहानगरपालिका–१२, नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको छ । ‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने उद्देश्यले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेको हो ।

हेटौंडा–१२, सिग्रेनी सोल्टीचोकबाट र्याली आयोजना गर्दै बुद्ध माध्यमिक विद्यालयमा पुगेर कार्यक्रम आयोजना गरिएको थियो । वडाध्यक्ष तिवारीको स्वास्थ्यमा समस्यासँगै कार्यक्रममा वडाको प्रतिवेदन वडा सदस्य महेश भट्टराईले प्रस्तुत गर्नुभएको थियो । ४७ वटा सूचकमा सय प्रतिशत र बाँकी ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिलसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको जानकारी दिनुभयो । बाल अधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ प्रतिशत गरी बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा पूरा भएसँगै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

घरधुरी तथ्यांक संकलन सर्वेक्षण २०७९ अनुसार हेटौंडा–१२ मा कुल २ हजार २३६ घरधुरी रहेको उहाँको भनाइ छ । वडामा १८ वर्ष मुनिका बालबालिका ३ हजार ७८ जना रहेको भट्टराईले बताउनुभयो । जसमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका रहेका छन् । वडामा सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय सञ्चालनमा रहेको छ भने २२ वटा बालसमुह र १ वडास्तरीय बाल समुह सञ्जाल रहेका छन् । जसमा ५५० जना बालबालिकाहरु आवद्ध रहेको भट्टराईले बताउनुभयो ।

हेटौंडा–१२, नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुखको आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख लामाले अभियानका रुपमा अघि बढिरहेको जानकारी दिनुभयो । वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने उहाँको भनाई छ । बालश्रम र बालविवाह न्यूनीकरण गर्न अभियानको रुपमा अघि बढाइएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पु¥याएको भन्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, माइती नेपाल मकवानपुर, मामाघर नेपाल लगायतलाई प्रसंशा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बाल समुहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरी लगायतको उपस्थिति रहेको थियो ।