हेटौंडा : जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगितामा मकवानपुरका शुभ कंसाकारले अर्धशतक प्रहार गरेका छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा जारी दुई दिवसीय प्रतियोगिताअन्तर्गत समूह चरणको छैटौं खेलमा बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबीच भएको खेलमा कंसाकारले अर्थशतक प्रहार गरेका हुन् ।

खेलमा मकवानपुरका कंसाकारले ७० रन बनाएका थिए । बागमतीले नेपाल पुलिस क्लबलाई १ सय १६ रनको लक्ष्य दिँदा कंसाकारले १२ ओभर २ बलमा १ छक्का र ४ चौका प्रहार गर्दैै अर्धशतक पूरा गर्न सफल भएका थिए । यस्तै, मकवानपुरका रिजन ढकालले अविजीत रहँदै १० रन बनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कंसाकार जनकपुर बोल्ट्सबाट प्रतियोगितामा सहभागी भएका थिए भने बायाँ हाते तीब्र गतिका बलर ढकाल चितवन राइनोजबाट प्रतियोगितामा सहभागी भएका थिए । दुबै खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका थिए । कंसाकारले प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले उपाधि चुम्नसमेत सफल भएको थियो ।

नेपाल पुलिस क्लबले प्रारम्भिक चरणको दोस्रो खेलमा बागमती प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलको यात्रा पूरा गरिसकेको छ । बागमतीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको पुलिस क्लबले २३ ओभर ५ बलमा लक्ष्य भेट्टायो । यो हारसँगै बागमतीको टिम समूह चरणको खेलबाट बाहिरिएको छ भने पुलिसले फाइनलको यात्रा पूरा गरेको हो ।

प्रतियोगितामा बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मधेश प्रदेशलगायतका टिमहरुको सहभागिता रहनेछ । बागमती प्रदेशको टिममा सूर्य तामाङ, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, रोविन जोशी, रोहन विश्वकर्मा, अशोक पौडेल, सूर्यान्सु कोइराला, नन्दन यादव, प्रतीक श्रेष्ठ, तिलकराज भण्डारी र दयानन्द मण्डल छनौट भएका थिए ।