हेटौंडाः बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. मानबहादुर बिकेले जिम्मेवारी पाउनुभएको छ । संघीय मन्त्री परिषद्को सोमबार बसेको बैठकले बागमती प्रदेश सरकारको प्रमुख सचिवमा डा. बिकेलाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै बागमती प्रदेशका प्रमुख सचिव तोयम रायालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सहसचिवबाट सचिव पदमा बढुवा हुनुभएपछिको पहिलो जिम्मेवारीको रुपमा डा. बिकेले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी पाउनुभएको हो । डा. बिके केही दिनअघि मात्रै सचिवमा बढुवा हुनुभएको हो । दलित समुदायबाट सचिव हुने डा. बिके पहिलो व्यक्ति हुनुहुन्छ । डा. बिके मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा पनि काम गरिसक्नुभएको छ । संघीय मन्त्री परिषद्ले सोमबार ६ जना सचिवहरुलाई विभिन्न निकायको जिम्मेवारी दिएको छ ।