हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाई निर्वाचित हुनुभएको छ । शनिबार राती सम्पन्न मतगणनाको नतीजाअनुसार ४८ मतसहित चौलागाई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । एसोसिएटतर्फको उपाध्यक्षका आकांक्षी विष्णु खनाल ३३ मतसहित पराजित हुनुभयो ।
एसोसिएटतर्फको सदस्यमा नवराज खतिवडा ६४ मत र अंकिता सुमार्गी ५४ मतसहित विजयी हुँदा ३८ मत प्राप्त गरी पुजन विडारी पराजित हुनुभयो । एसोसिएटतर्फ ८१ मत खसेको थियो । एसोसिएटमा निर्वाचित उपाध्यक्ष र सदस्य सबै प्रमोद सिंह रानाभाट प्यानलका उम्मेदवार हुन् ।
वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी निर्वाचित हुनुभएको छ । शनिबार राती सार्वजनिक भएको मत परिणामअनुसार १५ मतसहित काव्यमणि अधिकारी वस्तुगतर्फ उपाध्यक्ष निर्वाचित हुनुभएको हो । अर्का आकांक्षी प्रदीप अर्याल ११ मतसहित पराजित हुनुभयो ।
वस्तुगततर्फ २६ मत खसेको थियो । वस्तुगत सचिवमा नेत्रप्रसाद खतिवडा र राजाराम कार्कीबीच १३–१३ मतसहित बराबरी भएको छ । यस्तै वस्तुगततर्फ सदस्यमा शम्भु पुडासैनी १२ मतसहित विजयी हुँदा ११ मतसहित कृष्ण अर्याल र ३ मतसहित गोविन्द चौलागाई पराजित हुनुभएको छ । वस्तुगततर्फ उपाध्यक्ष निर्वाचित काव्यमणि र सदस्य शम्भु अनिल अग्रवाल प्यानलका हुनुहुन्छ ।