बालमैत्री वडा घोषणा गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडा ः हेटौँडा उपमहानगरपालिका–१३ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी वडालाई निकृष्ट बालश्रम, बाल विवाहमुक्त घोषणा गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

हेटौँडा–१३ नम्बर वडाका वडाअध्यक्ष पेम्बा लामाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा गरिएको हो । ५१ वटा सूचकमध्ये ४५ वटा सूचकमा शतप्रतिशत, अन्य २ वटा सूचकमा ९८ प्रतिशत, एकमा ९६ र अर्को एकमा ९५ प्रतिशत नतिजा प्राप्त भएसँगै वडालाई बालमैत्री घोषणा गरिएको बताइएको छ । २ वटा सूचकमा भने ८१ प्रतिशत मात्रै उपलब्धी हासिल भए तापनि बालमैत्री घोषणाका लागि न्यूनतम ८० प्रतिशत आधारविन्दु कटेको दावी गरिएको छ ।

१३ नम्बर वडाले २०७९ मंसिर २५ गते सरोकारवालाको उपस्थितिमा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरी अभियानलाई आत्मसात गर्दै कार्यान्वयनमा लागेको थियो । ८ हजार ८ सय ४२ जनसंख्या रहेको वडामा २ हजार ५ सय ७४ जना बालबालिका रहेका छन् । झाँकीसहित पदमपोखरी बजार परिक्रमा गर्दै बालमैत्री घोषणा सभा समारोहको आयोजना गरिएको थियो ।