मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ।

हेटौँडा ः बागमती प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद् सदस्य नियुक्त गरेका ४ जनालाई २ महिना बित्नै लाग्दा सपथ समेत गराउन सकेको छैन । गत मंसिर १० मा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका ४ जना सदस्यले ४५ दिन पूरा हुँदा समेत सपथ ग्रहण गर्न पाएका छैनन् ।

मन्त्रिपरिषद् बैठकले २ महिलासहित ४ जनालाई परिषद्को सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार परिषद्को सदस्यमा ललितपुरका रवी महर्जन, मकवानपुरका संगीत श्रेष्ठ, चितवनकी नविना खनिया र रामेछापकी कल्पना खड्कालाई नियुक्त गरिएको थियो । कानुनी अड्चनको समाधानका बीच सामाजिक विकास मन्त्रालयको सिफारिस तथा युवा तथा खेलकुद मन्त्रालयको सहमतिमा गरिएको उक्त नियुक्तिमा समस्या देखिएको हो र राजनीतिक भागबण्डा अनुसार सहमति जुटाएर गरिएको उक्त नियुक्तिमा आफ्नो मान्छे नपरेको भन्दै सपथ ग्रहण नै हुन नसकेको सामाजिक विकास मन्त्रालयको एक कर्मचारीले जानकारी दिए ।

सत्ता साझेदार दल एमालेबाट २ र कांग्रेसबाट २ जनालाई खेलकुद विकास परिषद् सदस्य नियुक्त गरिएको थियो । ती कर्मचारीका अनुसार नियुक्त गरिएको मध्ये २ जना सदस्यको विषयमा सामाजिक विकास मन्त्रीले समस्या देखाएकी थिइन् । विभागीय युवा तथा खेलकुद मन्त्रीले कांग्रेसबाट सदस्य छनौट गरी पठाएका थिए । सो विषयमा सामाजिक विकास मन्त्रीले समस्या देखाएर व्यक्ति परिवर्तन गर्न भनेको तर मन्त्रिपरिषद्बाट विभागीय युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले सिफारिस गरे अनुसार नै सदस्य नियुक्त गरेको ति कर्मचारीको भनाई छ ।

मन्त्री महर्जनले कांग्रेसबाट रवी महर्जन र कल्पना खड्कालाई सदस्यमा सिफारिस गरेका थिए । रवी मन्त्री महर्जनको विश्वास पात्र हुन् भने खड्का कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ निकट हुन् । खड्का कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको सदस्य समेत हुन् । दुवै सदस्यहरु फरक समूहबाट ल्याएको र आफ्नो मान्छे नसमेटेको भन्दै सामाजिक विकास मन्त्री खड्गी रुष्ट बनेकी थिइन् । मन्त्रिपरिषद्बाट आफूले भने अनुसार नभएको भन्दै सामाजिक विकास मन्त्रीले उक्त विषयमा ध्यान नदिएको उनले बताए । मन्त्रीले समय नदिँदा ४५ दिनसम्म सपथ हुन नसकेको उनको भनाई छ ।

केही समयअघि मात्र मन्त्री खड्गीले आफ्नै श्रीमान प्रकाश खड्गीलाई एक प्रादेशिक अस्पतालको अध्यक्ष पदमा नियुक्त गराएकी थिइन् । उनले स्वास्थ्य मन्त्रालय मार्फत् काठमाडौंको टोखा चण्डेश्वरी अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा श्रीमान प्रकाशलाई नियुक्त गरेकी थिइन् । सो पश्चात प्रदेश सरकार तथा मन्त्रिपरिषद्मा मन्त्री खड्गीको आलोचना हुँदै आएको छ ।

समय व्यवस्थापन नहुँदा ढिला भएको होः मन्त्री खड्गी
मन्त्री खड्गीले नियुक्त भएका सदस्यहरुको सपथ ग्रहण समय अभावका कारणले ढिलो भएको बताइन् । मन्त्रालयको विभिन्न कार्यक्रमका लागि जिल्ला बाहिर जानु पर्ने भएकाले सपथ ग्रहण ढिलो भएको उनले बताइन् ।

हरिप्रभा खड्गी ।

मन्त्रीपरिषद्बाट नियुक्त गरिएका ४ र मन्त्रालयबाट पनि ६ जना सदस्य नियुक्त गर्नुपर्ने भएकाले पनि केही समय लागेको उनको भनाई छ । अन्य ६ जनाको नियुक्ति पछि एकै पटक सपथ ग्रहण गराउने गरी तयारी रहेको उनले बताइन् । ६ सदस्यको नियुक्ति औपचारिक रुपमा सकिएको र छिट्टै नै प्रशासनिक काम सकेर सदस्यहरुको सपथ गराउने उनको भनाई छ । यता प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाका अनुसार केही दिनमा नै सपथ ग्रहण हुनेछ । मन्त्रालयमा सम्पूर्ण प्रक्रिया पूरा गरी प्रस्ताव पेश गरिएको र निर्णय भए लगत्तै सपथ हुने उनले बताए ।