हेटौँडा : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारणले नागरिकलाई विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भएको बताउनुभएको छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोकेको उहाँले बताउनुभयो । उद्योग संघ मकवानपुरको २३ औं साधारण सभालाई सम्धोन गर्नुहुँदै प्रमुख सचेतक बर्तौलाले राज्यले उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । राजनीतिक अस्थिरताका कारण उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको उहाँको भनाइ थियो ।
‘प्रशासनिक नेतृत्वका कारण डेलिभरिमा समस्या छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोकेको छ’, बर्तौलाले भन्नुभयो, ‘मध्यवर्ती क्षेत्रको नाममा हेटौँडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माणको काममा रोक्ने काम भएको छ । ९ वर्षदेखि मयुरधाप औद्योगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । उद्योग मन्त्रालयले समस्या हटाउन फाइल उठाउने पेश गर्ने काम र्गयो । तर, वनको विभिन्न कारणले सो औद्योगिक क्षेत्रको काम हुन सकेको छैन ।’
उहाँका अनुसार उद्योग क्षेत्रहरु धारासायी अवस्थामा पुगेका छन् । आर्थिक संकटका कारण हेटौँडा सिमेन्ट उद्योग कोमामा पुगेको उहाँको भनाई छ । सो उद्योग संचालनको स्थितिमा र्पुयाउनका लागि अनिवार्य दायित्व ७५ करोड रुपैयाँ राज्यले व्यहोर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उद्योग नीति परिमार्जन गर्नुपर्ने अवस्था रहेको बताउनुहुँदै लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले कच्चा पदार्थमा कम राजश्व लगाएको बर्तौलाले बताउनुभयो । राज्यले प्रशासनिक समस्या हल गर्दै उत्पादित वस्तुको बजार व्यवस्थापन गर्नु जरुरी रहेको उहाँको भनाई छ । उद्योगहरुको समस्याका बारेमा नीति संवादका माध्यमबाट छलफल गरी बलियो अर्थतन्त्र, रोजगारी सृजना तथा आयात प्रतिस्थापनका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख सचेतक बर्तौलाका अनुसार वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले केही गर्ने प्रयत्न गरिरहेको छ । अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्नुपर्ने अवस्था रहेकाले केही असहज अवस्थाहरु आइपरेको उहाँको भनाई छ । विगतमा योजनावद्ध रुपमा विकास गर्न नसक्दा राज्यलाई आर्थिक भार परिरहेको उहाँले बताउनुभयो । नेपालको राजश्व भन्दा बढी प्रशासनिक खर्च हुने गरेको प्रमुख सचेतक बर्तौलाले जानकारी गराउनुभयो ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले राजश्व वृद्धिमा सरकारको ध्यान जाँदा आयात बढिरहेको बताउनुभयो । सरकार आयातमुखी बनिरहँदा उद्योगमैत्री वातावरण बन्न नसकेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खुल्ला सिमाना र भन्सारले आर्थिक गतिविधिमा संकुचन ल्याएको छ । बजारमा माग बढाउन नसक्दा उद्योगहरुको अवस्था कमजोर बनिरहेको उहाँले बताउनुभयो ।
‘राज्यको पूँजीगत खर्च बढाउन सकिएको छैन । चालू खर्च बढेको बढ्यै छ । उद्योग प्रवद्र्धनमा सरकारको ध्यान जान सकेको छैन । उद्योगीहरुलाई समस्या हुनेगरी हेटौंडा औद्योगिक क्षेत्रको १४ करोड रुपैयाँ बहाल बढाउन खोजिएको छ । उद्योग क्षेत्रको मनोवल गिराउने गरी बहाल कर बढाइएको छ’, अध्यक्ष शर्माले भन्नुभयो ।