खुला व्यायामशालामा व्यायाम गर्दै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–९, प्रगतिशील टोलको बाल उद्यानमा खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । बुधबार वडा अध्यक्ष सुकराम केसीको उपस्थितिमा दिव्य बाल उद्यानमा प्रगतिशील खुला व्यायामशाला सञ्चालनमा आएको हो ।

९ नम्बर वडा कार्यालयको ७ लाख रुपैयाँ बजेटमा व्यायामशाला सञ्चालनमा आएको वडाध्यक्ष सुकराम केसीले जानकारी दिनुभएको छ । १० प्रकारको विभिन्न उपकरण र व्यवस्थित ढलानसहित व्यायामशाला निर्माण गरिएको उहाँले बताउनुभयो । वडामा ५ वटा खुल्ला व्यायामशाला बनाउने योजना रहेको बताउनुहुँदै अध्यक्ष केसीले यसअघि हेटौँडा औद्योगिक क्षेत्रको खेलमैदानमा एउटा व्यायामशाला निर्माण गरिएको बताउनुभयो । प्रगतिशील टोलमा दोस्रो खुला व्यायामशालाको निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

गत मंसिर १८ गतेबाट व्यायामशालाको निर्माण कार्य सुरु गरिएकोमा पुस ३ गते सम्पन्न भएको उहाँले बताउनुभयो । निःशुल्क रुपमा सेवा लिन पाउने गरी सञ्चालनमा आएको व्यायामशालामा दैनिक १ सय जनाले सेवा लिन सक्ने उहाँले प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष जयराम खतिवडाको सभाध्यक्षमा भएको हो ।