हेटौँडा–४, कर्रास्थित श्रमिक माविमा अर्धवार्षिक परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः विद्यालयहरुमा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौँडाले मंगलबारदेखि अर्धवार्षिक परीक्षा सुरु गरेको छ । मकवानपुरको भीमफेदी र मनहरी गाउँपालिकाका विद्यालयमा भने सोमबारबाटै अर्धवार्षिक परीक्षा सुरु भएको छ । प्रारम्भिक बालविकास कक्षादेखि कक्षा–१० सम्मका विद्यार्थीको अर्धवार्षिक परीक्षा सुरु भएको हो । मनहरीका ३२ वटा विद्यालयबाट करिब ८ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभएको छ ।

पहिलो दिन सोमबार अनिवार्य गणित विषयको परीक्षा भएको छ भने दोस्रो दिन मंगलबार अनिवार्य नेपाली विषयको परीक्षा भएको छ । परीक्षा आगामी पुस ८ गतेसम्म सञ्चालन हुने मनहरी–४, स्थित पशुपतिनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकाका शिक्षा शाखाका प्रमुख चक्र साउदकाअनुसार भीमफेदीका ४६ वटा विद्यालयका ४ हजार ६८ जना विद्यार्थी अर्धवार्षिक परीक्षामा सहभागी भएका छन् । पहिलो दिन अनिवार्य नेपाली विषयको परीक्षा भएको उहाँले जानकारी दिनुभयो । परीक्षा पुस ८ गतेसम्म सञ्चालन हुनेछ ।

बागमती गाउँपालिकामा भने अर्धवार्षिक परीक्षा सञ्चालन भइसकेको छ । गत मंसिर २१ गतेदेखि २८ गतेसम्म अर्धवार्षिक परीक्षा सञ्चालन गरिएको र परीक्षामा ३८ वटा विद्यालयबाट ३ हजार ८ सय ४० विद्यार्थी सहभागी भएको बताइएको छ । बागमती गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद राईकाअनुसार कक्षा–४ देखि १० सम्मका विद्यार्थीको मात्र परीक्षा लिइएको छ । बालविकास कक्षादेखि कक्षा–३ सम्मको भने परीक्षा लिइएको छैन । विद्यार्थीले दैनिक रुपमा गरिने गतिविधि तथा क्रियाकलापको आधारमा मूल्यांकन गरेर विद्यार्थीलाई अंक उपलब्ध गराउने राईले जानकारी दिनुभयो । परीक्षा समापन पश्चात अहिले बागमती गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा पठनपाठन सञ्चालन भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिकाभित्र रहेका विद्यालयमा भने मंगलबारबाट अर्धवार्षिक परीक्षा सुरु भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष भुपेन्द्र लुईटेलकाअनुसार उपमहानगरभित्रका ७३ वटा विद्यालयमध्ये ५८ वटा विद्यालयका १३ हजार ९ सय ३३ विद्यार्थी अर्धवार्षिक परीक्षामा सहभागी छन् । यसअघिको प्रथम त्रैमासिक परीक्षामा ३३ वटा विद्यालयले नगरस्तरीय परीक्षामा सहभागिता जनाएका थिए । परीक्षा बिहान १०ः३० बजेदेखि दिउँसो १र्२ः३० बजेसम्म र दिउँसो १ बजेबाट ४ बजेसम्म गरेर दुई सिफ्टमा परीक्षा सञ्चालन गरिएको बताउनुभयो ।

राक्सिराङ गाउँपालिका शिक्षा शाखाका प्रमुख पंकज थारुकाअनुसार मंगलबारबाट सुरु भएको परीक्षामा ५२ वटा विद्यालयबाट ६ हजार ५ सय ६४ विद्यार्थी सहभागी छन् । परीक्षा पुस ९ गतेसम्म सञ्चालन हुने प्रमुख थारुले बताउनुभयो । यस्तै कैलाश गाउँपालिकाका प्राविधिक सहायक दिपेन्द्र अधिकारीकाअनुसार गाउँपालिकाका ४५ विद्यालयबाट करिब ५ हजार २ सय विद्यार्थी मंगलबारबाट सुरु भएको परीक्षामा सहभागी भएका छन् । पहिलो दिन अनिवार्य अंग्रेजीको विषयको परीक्षा भएको छ । पुस ९ गतेसम्म परीक्षा सञ्चालन हुने अधिकारीले बताउनुभयो ।

बकैया गाउँपालिकाभित्र रहेका विद्यालयमा भने पुस ४ गतेबाट १२ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । ७६ वटा विद्यालयबाट करिव साढे ९ हजार विद्यार्थी परीक्षामा सहभागी हुने बकैया गाउँपालिकाका शिक्षा शाखा प्रमुख आइतराम तामाङले जानकारी दिनुभयो । थाहा नगरपालिकाका ५३ वटा विद्यालयमा यही पुस ८ गतेबाट प्राविधिक धारतर्फको परीक्षा सुरु हुने थाहा नगरपालिकाका शिक्षा शाखाका प्रमुख माधव विक्रम मल्लले जानकारी दिनुभयो । साधारण धारतर्फको भने पुस ११ गतेबाट पुस १९ गतेसम्म परीक्षा सञ्चालन हुने बताउनुभयो । जसमा करिव साढे ५ हजार विद्यार्थी सहभागी हुने बताएको छ । यस्तै इन्द्रसरोवर गाउँपालिकाभित्र रहेका २१ वटा विद्यालयमा पुस ४ गतेबाट परीक्षा सुरु हुने इन्द्रसरोवर गाउँपालिका शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । परीक्षामा करिव २ हजार ४ सय विद्यार्थी सहभागी हुने जनाएको छ ।