हेटौँडाः हेटौंडामा जारी यु–१५ ८ ए साइट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पिप्ले युवा क्लबको आयोजनामा हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा क्वार्टरफाइनल चरणको खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको हो ।

शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा जीत निकाल्दै देवनगर एफसी सेमीफाइनलमा प्रवेश गरेको छ । दिव्य स्पोर्टस् एकेडेमीलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै देवनगर सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय एक÷एक गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । म्यान अफ द म्याच अञ्जन अधिकारी घोेषित भएका छन् ।

यस्तै, दोस्रो खेलमा रियल स्टार क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । बालमिक क्लबलाई १–० गोलले हराउँदै बालमिक सेमीफाइनलमा प्रवेश गरेको हो । म्यान अफ द म्याच रियल स्टारका आशिष पाख्रिन घोषित भएका छन् । यस्तै, तेस्रो खेलमा जीत निकाल्दै हेटौंडा–१५ स्थित न्यू डाँफे युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–७ स्थित नागस्वती फुटबल एकेडेमीलाई टाइब्रेकरमा ८–७ गोलले हराउँदै न्यू डाँफ क्लब सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा पनि खेलको नतीजा नआएपछि खेल सड्न डेथमा पुगेको थियो ।

यस्तै, चौथो खेलमा विजयी हुँदै चितवन जिल्लाको गैरीबारी सेमीफाइनलमा प्रवेश गरेको छ । आयोजक पिप्ले युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै गैरीबारी सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा रोकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । । पहिलो सेमीफाइनल खेलमा रियल स्टार क्लब र न्यू डाँफे युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमीफाइनल खेलमा गैरीबारी र देवनगरको टिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता अन्तर्गत आइतबार बिहान सेमीफाइनल र दिउँसो फाइनल चरणको खेलहरु हुने क्लबका सदस्य नरेन्द्र मोक्तानले जानकारी दिनुभएको छ प्रतियोगितामा २० वटा टिमहरुको सहभागिता रहेको सदस्य नरेन्द्र मोक्तानले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडल्फिडर, गोलरक्षक र प्रशिक्षकलाई जनही ३ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछ ।