हेटौंडाः हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा हुन लागेको यु–१५ ८ ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । यही मंसीर २७ गतेदेखि ३० गतेसम्म हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुन लागेको पहिलो संस्करणको वडाध्यक्ष कप फुटबल प्रतियोगितको तयारी पूरा भएको जनाइएको छ । आइतबार पिप्ले युवा क्लबका अध्यक्ष सुविन घिमिरेले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगितामा मकवानपुरसहित अन्य २० वटा टिमहरुको सहभाागिता रहने जानकारी दिनुभएको छ ।
खेलाडीहरुलाई एउटै ठाउँमा मात्र सीमित नराखेर विभिन्न प्रतियोगितामा सहभागी गराउँदै राष्ट्रियस्तरमा पु¥याउन र खेलको विकासमा टेवा पुर्याउनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उहाँले बताउनुभयो । प्रतियोगिता आयोजना गर्नका लागि हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडा कार्यालयले करिब २ लाख ५० हजार रुपैयाँको बजेट बिनियोजन गरेको उहाँले बताउनुभयो । यसअघि पनि पिप्ले युवा क्लबले विभिन्न प्रतियोगिताहरुको आयोजना गरेकोमा १५ वर्ष उमेर समूहका खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन खेलमा पहिलो दिन बिहान ९ बजे नागस्वती फुटबल एकेडेमी हर्नामाडी र सृजनशील क्लबबीच प्रतिस्पर्धा हुनेछ । वडाध्यक्ष सुशील घिमिरेले वार्षिक रुपमा युवालाई प्राथमिकता दिएर विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएको सन्दर्भमा उनीहरुको उपस्थिति कम भएको कारणले १५ वर्ष उमेर समूहका खेलाडीहरु सहभागी हुन पाउनेगरी प्रतियोगिताको आयोजना गर्न लागेको बताउनुभएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडल्फिडर, गोलरक्षक र प्रशिक्षकलाई जनही ३ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्राप्त गर्नेछ ।











