बैठकमा सहभागी संयन्त्रका पदाधिकारीहरु ।

हेटौँडाः सत्ता साझेदार दल बागमती प्रदेशको संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको बैठकले संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न बागमती प्रदेश सरकारलाई निर्देशन दिएको हो ।

काठमाडौंमा बसेको बैठकले प्रदेश सरकारले गरेको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै जनचाहना अनुरुप प्रभावकारी ढंगले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । गत असोज ११ देखि १३ गतेसम्म आएको बाढीपहिरोबाट प्रदेशभित्र क्षति संरचनाको पुनःनिर्माण र विस्थापितलाई पुनःस्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्ने संयन्त्रको निर्णय तत्काल कार्यान्वयन गर्न सरकालाई निर्देशन दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरु २ दलको आपसी सहमतिमा टुंग्याउनु र समस्याग्रस्त सहकारीको पहिचान गरी कोही पनि सदस्य पीडित नहुने व्यवस्था गर्न निर्देशन दिएको सचिव नेपालले बताउनुभयो । बैठकले स्थानीय तहको उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, मतदातालगायतलाई प्रदेशस्तरीय दुई दलीय संयन्त्रले आभार प्रकट गरेको छ ।

बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँ, मुख्यमन्त्री बहादुर सिंह लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियोे ।