हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक अहिले चलिरहेको छ । प्रदेश सभाको बैठकमा बोल्नुहुँदै सांसस राजेन्द्र पाण्डेले १३ जिल्लामा प्रदेश समन्वय केन्द्र स्थापना गर्नुपर्ने माग गर्नुभएको छ । प्रदेशको राजधानी हेटौंडा अपायक भएको चारैतर्फ कुरा उठ्दा बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले त्यस्तो निकायको स्थापना गर्छु भन्ने कुरा कार्यान्वयमा नआएको सांसद पाण्डेले बताउनुभयो ।

उहाँले बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न नभएको योजनाको लागि म्याद थप गर्न तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो । यसबारे संघीय सरकारले ६ महिनाको म्याद थप गर्ने निर्णय गरिसकेको भन्दै प्रदेशले पनि तत्काल निर्णय गर्नुपर्ने उहाँको भनाई छ । यस्तै पूर्वाधार विकास कार्यक्रमको कार्यविधि परिवर्तन गरेर ५ लाखको योजना पनि बनाउन मिल्ने हुनुपर्ने बताउनुभयो ।

उहाँले कार्यविधि बनाउन चैत्र महिना लाग्ने, हतारमा टेन्डर गर्न बैशाख लाग्ने र अन्त्यमा बजेट फ्रिज हुने अवस्था नआउन दिन आग्रह गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले १ करोड सम्मको योजना उपभोक्ता समिति मार्फत गर्न दिनुपर्ने बताउनुभयो । जसले समयको पनि बचत हुने र काम समयमै सम्पन्न हुने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले प्रदेशमा बाढी पहिरोमा परी बेपत्ताहरुको खोजि कार्य तिव्र बनाउन सुझाव दिनुभएको छ ।