हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । शनिबार भएको गाउँ सभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष दामोदर खनालको अध्यक्षमा भएको चौथो गाउँ सभामा उपाध्यक्ष सरला बोलखेले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा वजेट प्रस्तुत गर्नु भएको थियो । बकैया गाउँपालिकाले ७१ करोड ४७ लाख पैसठ्ठी हजार बराबरको बजेट सर्वसम्मत पारित भएको हो ।
यसअघि वर्षाका कारण दुईपटक गाउँ सभा प्रभावित बनेको थियो । “समृद्ध बकैया निर्माणको मूल आधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पुर्वाधार” भन्ने नाराका साथ शुरु भएको सभामा सभा सदस्यहरुले कार्यक्रम तथा वजेट उत्कृष्ट र सन्तोषजनक रहेको बताएका थिए । सीमित श्रोत र साधनलाई जनताको जनचाहना अनुरुप विकास योजना तथा अन्य कार्यक्रमहरुलाई अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष खनालले बताउनु भयो । सामाजिक विकास, भौतिक संरचनाहरु निर्माण गर्नुपर्ने धेरै भए तापनि प्राथमिकताको आधारमा निर्माण गर्दै जनताको आकांक्षा र आवश्यकतालाई पूरा गर्ने अध्यक्ष खनालले बताउनु भएको छ ।
कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले जनताको हितलाई ध्यानमा राखी विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को महामारीमा पनि उचित व्यवस्थापन गरी जनताको आवश्यक कार्यको लागि पालिकाले काम गर्ने बताउनुभएको थियो । स्वास्थ्य, कृषि, पर्यटन र वातावरणमा लक्षित रही कृषिमा आधुनिक कृषि प्रणालीमा विशेष जोड दिएको र महिला सशक्तीकरणका लागि पालिकाले ध्यान दिएको छ । विदेशबाट फर्केर आएका युवाका लागि पनि गाउँपालिकाले विशेष ध्यान दिने जनाएको छ ।