तलब, सुविधाको माग गर्दै आन्दोलित निजी विद्यालयका शिक्षक कर्मचारी । फाइल तस्वीर ।

हेटौडाः संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् । लकडाउनको समयमा विद्यालयले शिक्षक कर्मचारीको तलब नदिएको भन्दै निजी विद्यालयका शिक्षक कर्मचारी आन्दोलनरत छन् ।

हिजो शनिबार संस्थागत विद्यालय शिक्षक यूनियन (ईस्टु) मकवानपुर जिल्ला सचिवालय र हेटौंडा उपमहानगर सचिवालयको संयुक्त बैठकले संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको सेवा, सुविधाको माग गर्दै भोलि सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । ईस्टुले भोलि बिहान साढे १० बजे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन), एन प्याव्सन मकवानपुरको कार्यालयमा सांकेतिक विरोधपत्र टाँस गर्नुका साथै कार्यालयमा तालाबन्दी गर्ने जनाएको छ ।

पर्सी मंगलबार बुद्धचोकमा कोण सभा गर्ने, बुधबार मुख्यमन्त्री कार्यालयमा बिहान ११ बजे धर्ना दिने र बिहीबार हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिमा बिहान ११ बजे धर्ना दिने कार्यक्रम तय गरिएको ईस्टु मकवानपुरका अध्यक्ष सचिन लामाले जानकारी दिनुभएको छ । यता संस्थागत विद्यालय सञ्चालकहरु भने अभिभावकसँग शूल्क उठाउन नपाएकाले शिक्षक, कर्मचारीलाई तलब सुविधा दिन नसकिने बताउँदै आएका छन् ।