हेटौंडाः शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको शिक्षण अध्यापन अनुमतिपत्रको परीक्षा आज शनिबार लिँदैछ । परीक्षाका लागि ५ हजार परीक्षार्थीले आवेदन फारम भरेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो ।
शिक्षण अनुमतिको वस्तुगत परीक्षा दिउँसो १ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । हेटौंडा उपमहानगरभित्रका ११ वटा विद्यालयमा २० वटा परीक्षा केन्द्र तोकिएको प्रमुख गिरीले बताउनुभयो । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय, बालजागृति इङ्लिस सेकेण्डरी स्कूल, हेटौंडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–१ स्थित अमर माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।
यसैगरी हेटौंडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालय, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय, हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–११ स्थित त्रिभूवन माध्यमिक विद्यालय र हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयलाई परीक्षा केन्द्र तोकिएको छ । २० जना केन्द्राध्यक्ष समेत तोकिएका छन् । उत्तरपुस्तिकादेखि कक्षाकोठाको व्यवस्थापन लागायत परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रमुख गिरीले जानकारी दिनुभयो ।