हेटौंडाः विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारमातहतको स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौँडाको बुद्धचोकमा दीप प्रज्वलन कार्यक्रम भएको छ । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसहित दीप प्रज्वलन गरिएको थियो ।
जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । बागमती प्रदेशका एच.आई.भी. फोकल पर्सन जितेन्द्र कर्ण, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा र जिल्लामा एच.आई.भी. सम्बन्धित संस्थाका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा ए.एच.एफ. नेपाल मकवानपुर र स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको हो । कार्यक्रम समापनमा जनस्वास्थ्य प्रशासक घिमिरेले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी डिसेम्बर १ मा हेटौँडा अस्पताल परिसरमा सचेतनामूलक नाटक प्रदर्शन गरिने बताइएको छ ।