हेटौंडाः हेटौंडामा जिल्लास्तरीय रनिङ शिल्ड व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला व्याडमिन्टन संघको आयोजना तथा हेटौंडा–१०, बुद्धचोकस्थित सिजन स्पोर्टस् हाउसको सह–आयोजनामा स्व. विके वोस स्मृति अन्तरविद्यालय यु–१३ र यु–१७ छात्र/छात्रा रनिङ शिल्ड व्याडमिन्टन प्रतियोगिता शुक्रबार र शनिबार हुनेछ ।
प्रतियोगितामा १६ वटा विद्यालयबाट खेलाडीहरुको सहभागिता रहने मकवानपुर जिल्ला व्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष विजय सिंह ठकुरीले जानकारी दिनुभएको छ । जिल्ला व्याडमिन्टन संघका पूर्वअध्यक्ष विके वोसलाई स्मरण गर्नका लागि यस बर्षबाट प्रतियोगिताको आयोजना गर्न लागेको संघका सदस्य नरेन्द्र मोक्तानले बताउनुभयो । प्रतियोगितामा एउटा विद्यालयबाट महिला र पुरुष गरी १६ जना खेलाडीहरुले सहभागिता जनाउन पाउने सदस्य मोक्तानले बताउनुभयो । प्रतियोगितामा विके वोसको छोरा अभिषेक वोस र छोरी माधवी वोसले प्रयोजकको रुपमा रहनु हुने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको सम्पन्न गर्नका लागि करिब १ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको सदस्य मोक्तानले बताउनुभयो । पहिलो पटक जिल्लास्तरीय अन्तरविद्यालय व्याड्मिन्टन प्रतियोगिता आयोजना गरेकोले यस वर्ष नगद पुरस्कार व्यवस्था नगरिएको उहाँको भनाई छ ।