chhat puja,symbolic image

हेटौंडाः चार दिनसम्म मनाइने छठ पर्व मंगलबारबाट सुरु भएको छ । तिहारको भाइटीकाको दुई दिनपछि छठ पर्व सुरु हुन्छ । तराई मधेशको सबैभन्दा ठूलो पर्व छठ कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठ पर्व सुरु भएसँगै हेटौंडा–१, राप्ती तटस्थित छठघाटमा छठ पूजाको तयारी तिब्र पारिएको छ । छठ पर्वमा सूर्य पूजाको महाअनुष्ठानका लागि हिन्दू धर्मावलम्बीहरुले विभिन्न नदी तथा जलाशयका किनारमा सरसफाई गर्दै रंगीचंगी बनाउने गर्दछन् ।

छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीलाई मानिन्छ । छठको अन्तिम दुई दिन विभिन्न नदी, खोला, पोखरी, तलाउ छेउमा सजावट गरी ब्रतालुले जलमा उभिएर कार्तिक शुक्ल षष्ठीको दिन अस्ताइरहेको र सप्तमीको बिहान उदाइरहेको प्रकृतिको संरक्षणकर्ता सूर्यदेवलाई अर्घ दिएर समापन गरिने प्रचलन छ ।

छठको पहिलो दिन मंगलबार ‘नहाय–खाय’ विधि सम्पन्न गरिएको छ । आफ्नो शरीर शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ । पहिलो दिन छठका ब्रतालुहरुले नुहाएर ‘अरबा अरबाइन’ खान्छन् । छठको पहिलो दिन चतुर्थी तिथिबाट ब्रतालुहरुले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मुसुरा्लगायत वस्तु परित्याग गरी ब्रत सुरु गर्दछन् ।

छठको दोस्रो दिन आज बुधबार दिनभर उपवास रही रातिमा खिर बनाई भगवानलाई चढाएर ब्रतालुहरुले खाने परम्परा छ । अरबा चामलबाट बनेको खिर खाने विधिलाई ‘खरना’ भनिन्छ । छठको दोस्रो दिन पञ्चमी तिथिका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रतालुहरुले दिनभर निर्जला व्रत बस्छन् । राति चन्द्रोदयपछि चन्द्रमालाई खिर अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन् ।

छठको मुख्य दिन भोलि बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । पोखरी, तलाउ, नदी, कुवालगायतमा तयार पारिएको छठ घाटमा ब्रतालुहरु जम्मा भई सूर्य भगवानको पूजा आराधनासहित अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठको अन्तिम दिन कार्तिक शुक्ल सप्तमीको बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिन्छ । बिहानीको अर्घ दिइसकेपछि ब्रतालुहरुले प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई ‘पारन’ भनिन्छ ।

षष्ठी तिथिका दिन मनाइने भएकाले यस पर्वको नाम अपभ्रंसित हुँदै छठी, छठ भएको विश्वास छ । छठी (षष्ठी) मातालाई पुकारेर सूर्यको पूजा आराधना गरिने छठ पर्वमा पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।