अष्ट्रेलियाविरुद्ध बलिङ गर्दै नेपालका बलर प्रतिश जिसी ।

हेटौँडाः हङकङ सिक्सेसमा नेपालले आफ्नो दोस्रो खेलमा पनि जित निकालेको छ । हिजो शुक्रबार भएको पहिलो खेलमा ३ पटकको उपाधि विजेता इंग्ल्याण्डविरुद्ध शानदार जित निकालेको नेपालले आज शनिबार बिहान भएको खेलमा अष्ट्रेलियाविरुद्ध पनि शानदार जित दर्ता गरेको छ । टस जितेर अष्ट्रेलियाले नेपाललाई व्याटिङको निम्तो दिएको थियो ।

पहिले व्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १ सय ११ रन जोडेको थियो । नेपालका लागि कप्तान प्रतिश जिसीले १६ बलको सामना गर्दै ५१ रन जोडे । यस्तै लोकेस बमले १३ बलमा ३३ रन जोडे भने रसिद खानले २ बलमा १२, विवेक यादवले ४ बलमा १२ रन जोडेका थिए । १ सय १२ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको अष्ट्रेलियाले ज्याक उडको ५५ रनका बाबजुद जित निकाल्न सकेन । उडले १६ बलमा ५५ रन जोडे ।

अष्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्रै जोड्न सफल भयो । नेपालका प्रतिश जिसीले ३ विकेट लिए । लोकेश बम र विवेक यादवले पनि १/१ विकेट लिए । समूह विजेता बन्दै नेपाल नकआउट चरणमा प्रवेश गरेको छ । नकआउट चरणमा नेपालले श्रीलंकाको सामना गर्नेछ । श्रीलंकासँगको खेल पनि आजै दिउँसो हुनेछ ।