हेटौँडाः नेपालको वर्तमान कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु, गराउनुलाई दण्डनीय अपराध ठहर्याएको छ । तर, २० वर्ष भन्दा कम उमेरमै अझै विवाह भइरहेको छ भने २० वर्षभन्दा कम उमेरमै किशोरीहरु आमा बन्ने क्रम पनि रोकिएको छैन ।

बागमती प्रदेश सरकार मातहतको हेटौँडा अस्पताल अस्पतालमा असोज महिनामा मात्रै २० वर्षभन्दा कम उमेरका १८ जना गर्भवती सुत्केरी भएका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै २० वर्ष भन्दा कम उमेरका ६३ जना गर्भवती सुत्केरी भएका छन् । २० वर्ष भन्दा कम उमेरमै सन्तान पाउने साउनमा २६ जना र भदौमा १९ जना रहेको हेटौँडा अस्पतालले जानकारी दिएको छ ।

साउन महिनामा सुत्केरी भएका २६ जना मध्ये ३ जनाको शल्यक्रिया गरिएको थियो भने भदौमा ४ र असोजमा ३ जनाको शल्यक्रिया गराउनु परेको अस्पतालले जानकारी गराएको छ । हेटौँडा अस्पतालमा साउनमा २८१ जना, भदौमा ३१० जना र असोजमा २९८ जना गर्भवती सुत्केरी भएका छन् । कम उमेरमै गर्भधारण गर्दा गर्भवती महिला र गर्भमा रहने भ्रुण दुबैमा जटिलता हुने भनिए पनि २० वर्षभन्दा कम उमेरमै गर्भवती हुँदै सुत्केरी हुने क्रमलाई रोक्न सकिएको छैन ।