प्रहरीले बरामद गरेको अबैध चाँदीसहित पक्राउ परेका साह र महतोलाई सार्वजनिक गर्दै ।

हेटौँडाः बारा जिल्लाको पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेका दुईजनालाई १४ केजी अवैध चाँदीसहित बारा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान ८ बजेको समयमा बारा जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका–२१, अमलेखगंजमा प्रहरीले सुरक्षाजाँच गर्दा २५ लाख ४ हजार रुपैयाँ मूल्य बराबरको १४ केजी चाँदीसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले ना ५२ प २५८४ नम्बरको मोटरसाइकलबाट ९ केजी चाँदीसहित बारा जिल्लाको प्रसौनी गाँउपालिका–६, प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र ना ५५ प ३९३२ नम्बरको मोटरसाइकलबाट ५ केजी चाँदीसहित बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–८, गमरगावाटोलका २७ वर्षीय सुरेश महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।