लागुऔषध गाँजा तस्करी र चोरीका घटनामा संलग्नहरुलाई बरामद भएका सामग्रीसहित सार्वजनिक गर्दै ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । गाँजा तस्करी र चोरीका घटनामा संलग्नलाई प्रहरीले बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । गाँजा तस्करीको घटनामा संलग्नलाई ८ दिन र चोरीका घटनामा संलग्नलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालतबाट अनुमति समेत लिएको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले बुधबार पूर्व–पश्चिम राजमार्गाअन्तर्गत रजैयाबाट बागमती प्रदेश ०१–०२५ च ७८७१ नम्बरको योद्धा पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । प्रहरीले लागुऔषध गाँजासहित हेटौँडा–३ बसामाडीका २४ वर्षीय पन्चलाल थिङलाई नियन्त्रणमा लिएको छ ।

यस्तै हेटौँडाका विभिन्न चोरीका घटनामा संलग्न भएको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । चोरीको घटनामा संलग्न एक नाबालकलाई भने प्रहरीले हिरासतमा नलिइएको प्रहरीले जनाएको छ । हेटौँडा सिमेन्ट उद्योगको तार चोरीको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते उद्योगको तार चोरी गरेको अभियोगमा हेटौँडा–१३ का २२ वर्षीय मनिराज थोकर, २८ वर्षीय सन्त बहादुर तितुङ र तार खरिद गर्ने भारतीय नागरिक खुशकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न अन्यलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले जानकारी दिनुभयो ।

हेटौँडा–८, कमानेमा निर्माणाधिन आवासीय भवनबाट विजुलीको तार चोरी गर्ने ३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–८, कमानेका २६ वर्षीय सुमन राई, २५ वर्षीय समीर घिमिरे र २४ वर्षीय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । सुशान्त श्रेष्ठ हेटौँडा–८, क्याम्पाडाँडा पारी रहेको हेटौँडा फन भिल्लाबाट साउण्ड सिस्टम र नगद २० हजार रुपैयाँ चोरीको घटना र हेटौँडा–२ बाट मोटरसाइकल चोरीको घटनामा पनि संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै काठमाडौं–मधेश÷तराई फास्ट ट्रयाक आयोजनामा वेल्डिङको काम २४ वर्षीय राजेश्वर चौधरी र राहुल चौधरीलाई लेनडाँडाबाट ३७ केजी २३ ग्राम बिजुलीको तार चोरी गरी हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्काले चोरीको घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरी सोधपुछ गर्दा चोरीका घटनामा संलग्नहरुको ठूलो जालो पहिचान भएको र फरार भएकाहरु र चोरीका अन्य घटनामा संलग्नहरुलाई खोजी कार्य भइरहेको जानकारी दिनुभयो । पछिल्लो समय हेटौँडामा चोरीका घटना बढेको भन्दै सुरक्षा निकायप्रति तीव्र आलोचना भइरहँदा बिहिबार उल्लेख्य संख्यामा चोरीका घटनामा संलग्नहरुलाई एकसाथ सार्वजनिक गरेको हो ।