वक्तृत्वकलामा प्रथम स्थान हासिल गर्न सफल विवेक आनन्द न्यौपानेलाई पुरस्कृत गरिँदै ।

हेटौँडाः जेसीआई हेटौँडाले जेसीज सप्ताहको दोस्रो कार्यक्रमको रुपमा आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा विवेक आनन्द न्यौपाने उत्कृष्ट वक्ता घोषित हुनुभएको छ । मंगलबार हेटौँडा–९ स्थित जेसीआई हेटौँडाको सचिवालयमा भएको वक्तृत्वकलामा सहभागी ११ जना मध्ये विवेकले प्रथम स्थान हासिल गर्नुभएको हो । न्यौपाने लगातार तेस्रो वर्ष प्रथम हुनुभएको हो ।

प्रतियोगितामा किरण आले दोस्रो हुनुभयो भने छोइसाङ लामा तृतीय हुनुभयो । “कार्य, प्रतिबिम्ब, रुपान्तरण” शीर्षकमा वक्ताहरुले आआफ्ना धारणा राखेका थिए । जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्ष विकेश लाल श्रेष्ठले आफ्नो कार्यकालको नारा नै “कार्य, प्रतिबिम्ब, रुपान्तरण” बनाउनुभएको छ । युवा पुस्ताको कार्यले आकार अर्थात् एउटा प्रतिबिम्ब प्राप्त गर्नुपर्ने र त्यसले समाजमा रुपान्तरण ल्याउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

वक्तृत्व कला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीले क्रमशः ३, २ र १ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । जेसीज सप्ताहको समापन समारोहमा पुरस्कृत गरिने छ । वक्तृत्व कलाको प्रमुख निर्णायकमा पूर्वअध्यक्ष गणेश कुमार श्रेष्ठ, निर्णायकमा पूर्वअध्यक्षहरु कुश कुमार रिजाल र दीपक राज मिश्र रहनुभएको थियो । जेसीआई हेटौँडाका अध्यक्ष विकेश लाल श्रेष्ठको अध्यक्षता तथा पूर्वअध्यक्ष अशोक शाक्यको प्रमुख आतिथ्यमा वक्तृत्व कला प्रतियोगिता भएको हो । वक्तृत्वकला प्रतियोगिता किरण आलेको संयोजकत्वमा भएको हो ।